कञ्चनपुर । डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहेकी छिन् । कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी बस्तीमा आएयता गाउँलेसँग सुमधुर सम्बन्ध रहेकोप्रति हर्षित रहेकी छिन् । ‘जङ्गलबाट आएको भनेर हेला गर्छन् कि भन्ने पीर थियो’, उनले भनिन्, ‘अब त खेतीपाती र मजदूरी गरेरै दिन बितिरहेको छ ।’
उनले समाजमा बसोवास थालेसँगै विभिन्न आयमूलक काम र मजदूरीमा लाग्न स्थानीयवासीले प्रेरित गर्ने गरेको बताइन् । ‘दुई छोरा भारतको लोहाघाटमा मजदूरी गर्छन्’, उनले भनिन्, ‘श्रीमान् गाउँघरमै ज्याला मजदूरी गर्नुहुन्छ ।’
कञ्चनपुरमा राउटे समुदायको तीन परिवारको मात्रै बसोवास रहेको छ । यहाँ बसोवास गर्दै आएका राउटे समुदायका अधिकांश पुरुष अहिले जीवन निर्वाह गर्न मजदूरी गरिरहेका छन् । ‘मजदूरीको पैसाले सामान्य खर्च चलेपनि हाम्रो घरको खर्च मुख्य रुपमा सरकारबाट पाइने राउटे भत्ताबाट टरेको छ’, किणीदेवीले भनिन्, ‘नियमित रुपमा भत्ता पाइरहेकै हुनाले घरको दाल, चामल चलेको छ ।’