डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकावासीलाई कसैसँग मोबाइल सम्पर्क गर्नुपरे दुई घण्टा पैदल हिँडेर अग्लो डाँडा जानुपर्ने बाध्यता छ । दुईघण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरुको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका तीन वटा वडावासी दैनिक दुई घण्टा हिँडेर डाँडा जाने गरेको परशुराम नगरपालिका–८ का धनबहादुर जाग्रीले बताए ।
उनले भने,‘मजस्तै यहाँका सबै व्यक्तिलाई फोन गर्न दुई घण्टा हिँडेर डाँडा चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु रु आफन्तको खबर सुन्न मन लाग्छ ।’ डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको परशुराम नगरपालिका–८ मा पर्ने करेनी, जमरेनी र काँफलगैराका स्थानीयवासीहरुले फोन गर्नकै लागि घरबाट दुई घण्टा पैदल हिँडेरमाथि डाँडामा पुग्ने गरेको जाग्रीले बताए ।
परशुराम नगरपालिका–८ का तीन वटा गाउँमा यस्तो समस्या भएको उनले बताए । त्यो पनि घाम लागेको बेला स्काइफोन लाग्ने र अन्य बेलामा त्यसमा पनि समस्या आउने गरेको उनले भने, ‘ऐनसेल र नमस्तेको मोबाइलको नेटकर्वमा झनै समस्या देखिएको छ ।’
दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले डाँडामा पुग्नु बाध्यता भएको उनको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । डडेल्धुरा जिल्ला भन्ने बित्तिकै सबैले धेरै विकास भएको जिल्लाका रुपमा बुझ्छन् । त्यहाँ सञ्चार क्षेत्र तथा टेलिफोन सेवा अझै पनि पुग्न नसकेको भन्दा धेरैलाई विश्वास नलाग्ला तर कुरा सत्य हो । डडेल्धुरामा परशुराम नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि धेरै ठाउँमा फोन सेवा पुग्न सकेको छैन ।