भक्तपुर। राजनीतिक विश्लेषक सौरभले केपी ओलीपछि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीमा झर्ने अभिव्यक्तिले अहिले चर्चा पाइरहेको छ। तर यसको ठीक विपरीत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा जुटेको समेत उनले दाबी गरे ।
यसको लागि प्रचण्डले पनि लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई अन्तर्रा्ष्ट्रियकरण गर्न हुन्न भनेर ‘प्रभु भक्ति’ गरिसकेको अध्यक्ष बिजुक्छेको तके छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इञ्जिनियरिङको ११ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले उक्त तर्क गरेका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न सक्नु भएन भने प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ’, अध्यक्ष बिजुक्छेले भने ।
भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा गरेको सीमा अतिक्रमणलाई प्रचण्डले अन्तर्रा्ष्ट्रियकरण गर्न पर्दैन, कूटनीतिक वार्ता गर्नुपर्छ भन्नु नै प्रधानमन्त्रीको लाइनमा रहेको पुष्टि हुने उनको भनाइ थियो ।
तर कूटनीतिक वार्ता गर्दा हिजो सुस्तामा आधा भूभाग गुमाउनुपरे जस्तै अहिले प्रचण्डले प्रधानमन्त्री पाउँदा लिम्पियाधुरा र कालापानी पनि नेपालले आधामात्रै पाउने सम्भावना रहेको उनले स्पष्ट पारे ।
अध्यक्ष बिजुक्छले सीमा विवादलाई अन्तर्रा्ष्ट्रिय अदालतमा लैजान ढिलाइ भइरहेको भन्दै सरकारको कडा आलोचना गरे। सीमा अतिक्रमण मुद्दामा कूटनैतिक वार्ता भन्ने नै नहुने उनको जिकिर थियो ।
‘सीमा अतिक्रमणको विवाद हाम्रो भूमिबाट फिर्ता जा, सैनिक फिर्ता लैजाऊ भन्न सक्नुपर्छ’, अध्यक्ष बिजुक्छेले भने, ‘यसमा कूटनैतिक वार्ता भन्ने हुँदैन। बरु अन्तर्रा्ष्ट्रिय अदालत जान सकिन्छ। कूटनैतिक काम भनेको अन्तर्रा्ष्ट्रिय अदालत नजाऔं भनेको हो। ठूलो देशलाई हामीले तर्साउन पनि सक्दैनौं। हाम्रा प्रम उतैबाट नियुक्त हुन्छन् ।’
नेताको स्वास्थ्य रेकर्ड अमेरिका र भारतमा
फरक प्रसंगमा उनले सरकारमा बस्ने हरेक नेताहरुको स्वास्थ्यसम्बन्धी सम्पूर्ण रेकर्ड अमेरिका र भारतमा रहेको खुलासा गरे। सोही रेकर्डको आधारमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको पार्टी एकता गराएर दुईजना अध्यक्ष बनाइएको उनको दावी थियो ।
‘सरकारमा बस्ने हरेक नेताहरुको स्वास्थ्यसम्बन्धी रेकर्ड अमेरिका छ, भारत पनि छ’, अध्यक्ष बिजुक्छेले भने, ‘हाम्रा नेताहरु को कहिले मर्ने र को कति बाँच्छन् सबै उनीहरुको हातमा छ। त्यसैले दुई पार्टी एक गरेर दुई अध्यक्ष बनाइएको हो ।’