काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औँ वार्षिकोत्सव एवं शैक्षिक प्रदर्शनीको आज उद्घाटन गर्दै राजनीतिमा गलत संस्कारको विकास हुँदै गएको बताए।
‘जनताको राजनीतिक चेतनास्तर खस्किँदै जानु चिन्ताको विषय हो, चुनावको समयमा राजनीतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन र पैसाको लोभ देखाएर मतदातालाई झुक्याउने काम गलत हो’, बिजुक्छेले भने। लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कूटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले नेपाली भूमि अतिक्रमणको मुद्दालाई अब नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्नेमा जोड दिए।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेज अनुसन्धान केन्द्रका रुपमा विकास गरी कलेजलाई विश्वविद्यालयका रुपमा अगाडि बढाउन प्राध्यापकलाई उत्साहित गर्दै आइरहेको बताए।
भक्तपुर नगरवासी जनताले तिरेको कर र आन्तरिक स्रोतबाट स्थापना भएको ख्वप इन्जिनियरिङ कलेजले देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गरिरहेको उनले बताए।