रहस्यमा जीवन र प्रेम

विज्ञापन

Share post:

डा. नम्रता पाण्डे
जीवनलाई व्यवस्थित गर्न लागिपरेका, स्वस्थ र लामो जीवन जिउन अनेक प्रयत्न गर्ने, जीवनलाई खुसी, सुखी र प्रेमपूर्ण जिउन प्रयत्नरत हामी सधैं एउटा प्रश्नमा अल्झिरहेका हुन्छौं( जीवन के हो त? अस्तित्वले सृजना गरेका विराट् र मूल्यवान् वस्तुहरूको परिभाषा र उद्देश्य हुँदैन। स्याउ के हो? आँप के हो? अमेरिका के हो? जापान के हो? यस्ता फरक–फरक फल र भूगोल अथवा अन्य तुलनीय कुराको प्रश्नको जवाफ सजिलै मिल्न सक्छ। जीवनका अलवा अरू कुनै तुलनायोग्य वस्तु भएको भए जीवन के हो प्रश्न गर्नु सान्दर्भिक हुन्थ्यो होला? जीवन जीवन नै हो, त्यसैले जवाफ मिल्दैन। सधैं तर्क र प्रश्नहरूले भरिएका हामीलाई मनुष्य जीवन अस्तित्वको उपहार हो मात्र भनेर चित्त बुझ्दैन। विज्ञान, गणित र रसायनशास्त्र जानिसकेका हामीलाई पहिले गर्ने, मान्ने अनि जान्ने बानी परेकाले प्रयोगविनाको परिणामलाई सहज स्विकार्न असहज हुनु स्वाभाविक हो।

तर जीवन र प्रेम कुनै गणित र विज्ञान होइन। पहिले प्रयोगशालामा प्रयोगात्मक रूपमा प्रयोग गर्ने अनि परिणाम आएपछि स्वीकार गर्ने। प्रेमलाई जान्ने कुनै सूत्र हुँदैन। जीवनलाई प्रयोग गरेर हेर्ने कुनै प्रयोगशाला छैन। जीवन आफैंमा एक रहस्यमय प्रयोगशाला हो, यसलाई अनभूति मात्र गर्न सकिन्छ। अनुभूति र अनुभवको नाम नै जीवन हो। सृष्टिको स्रोत नै प्रेम हो। प्रेमको कारण हामीले जीवन पाएका छौं। प्रेमविना यो जीवन सम्भव थिएन तर विडम्बना रहस्यलाई रहस्यकै रूपमा अनुभूति गर्न छाडेर परिभाषामा अल्झेका छौं हामी। हृदयको सुन्दैनौं मस्तिष्कको इशारामा बढी चल्छौं। मस्तिष्कले कहिल्यै रहस्यलाई रहस्यको रूपमा रहन दिँदैन।

कुनै पनि चीज, भाव या रहस्यलाई परिभाषामा नउतारीकन मन शान्त हुँदैन। तर कयौं चिज यस्ता छन्, जसलाई परिभाषामा बाँध्न सकिन्न, व्याख्यामा समेट्न सकिन्न। कुनै किताब पढेर जीवन र प्रेमलाई जान्न सकिन्न। कयौं ठूला अनुसन्धान र वैज्ञानिकहरूले समेत परिभाषामा समेट्न नसकेका कुरा हुन् जीवन र प्रेम। जीवन र प्रेम अनन्त आकाशभन्दा ठूलो र फराकिलो छ। कसले यसलाई छोटो परिभाषाले वर्णन गर्न सक्छ? शदीयौं बिते जीवन र प्रेमका परिभाषा असम्भव भएका छन्। जसको कुनै सीमा छैन, आँकडा छैन, अंकगणित छैन, आफैंमा अनन्त र विराट् अर्थ बोकेको छ। जीवनलाई पनि मानिसले परिकल्पना गरेका कुनै आयोजनाजस्तै ठान्दै यसका उद्देश्य र लक्ष्य के हुन् भनेर खोज्न र विचार गर्न थाल्छौं हामी।

कयौं ठूला अनुसन्धान र वैज्ञानिकहरूले समेत परिभाषामा समेट्न नसकेका कुरा हुन् जीवन र प्रेम। जीवन र प्रेम अनन्त आकाशभन्दा ठूलो र फराकिलो छ।

बाहिरबाट जतिसुकै आत्मविश्वासको खोल ओढे पनि ऐन मौकामा डग्मगाउन थाल्छौं र फेरि सोच्न र पुनर्विचार गर्न बाध्य हुन्छौं– हामीले अपनाएको मार्ग ठीक हो कि होइन? यी र यस्ता प्रश्न नखोज्ने र आफूभित्र घोत्लिन नसक्नेले जीवन व्यर्थ, दुःख र अभावको संज्ञा दिन्छ र आत्महत्याको प्रयाससम्म गर्न पुग्छ। जीवनको लक्ष्य, जिउनुको उद्देश्य, सही मार्गको ज्ञान भित्रबाट मात्र खुल्छ। मानिसले बनाएका सामानको वारेन्टी दिइएको हुन्छ एक वर्ष, दुई वर्ष आदि…। तर यो जीवनको ग्यारेन्टी छ? कसैलाई थाहा छैन। ग्यारेन्टी नभएको जीवनको परिभाषा खोजेर समय खेर फाल्ने कि यहीं र अहिल्यै जे छ, त्यसमा रमाउने? बुद्धिमानी त्यसमै छ। हामी जीवन जिउन सुरु गरौं, जीवनलाई प्रेमले भरिपूर्ण पारौं र आनन्दित बनाऔं।

जीवन र प्रेम कुनै विज्ञान होइन, जसलाई प्रयोगशालामा प्रयोग गरेपछि मात्र ठीक या बेठीक, राम्रो या नराम्रो परिणामका आधारमा अनुभूति गर्ने। जीवन र प्रेम कुनै वस्तु होइनन्, जसलाई कसी लगाएर प्रमाणित गर्न सकियोस्। जसले आफ्नो मन र मस्तिष्कको इशारा बुझ्न सक्दैन, मनभन्दा पर पनि कुनै अस्तित्व छ भन्ने जान्दैन, उसले मात्र हरेक कुरालाई परिभाषामा सीमित गरेर, तर्कद्वारा सिद्ध गर्न खोज्छ। जसको मन ऊभन्दा अगाडि छ अर्थात् जसले आफ्नो मनलाई आफ्नो मालिक बनाएको छ ऊ हरेक कुरामा स्पष्टता चाहन्छ। जसको अनुभूति मात्र गर्न सकिन्छ, त्यसलाई कसरी शब्दमा उतार्ने? तर जीवन र प्रेम एउटा अनुभूति हो, एउटा रहस्य हो र एउटा राज हो। यसमा जति तर्क र बुद्धि लगाए पनि, मन जति मालिक हुन खोजे पनि यो रहस्यमै रहन्छ। यो रहस्यको आनन्दमा डुब्नुजतिको समझदारी अरू हुनै सक्दैन। जीवनको रहस्य आनन्दमा समाहित हुनु हो भने प्रेमको रहस्य अस्तित्वसँग तादात्म्य जोड्नु हो। प्रकृतिसँग रमाउनु हो। आफैंभित्र डुबुल्की लगाउनु हो। जिउनुको नाम जीवन हो। जीवन्तता प्रेम हो।

एकपटक सन्त राविया एउटा धार्मिक पुस्तक पढ्दै हुनुहुन्थ्यो। पुस्तकको एक ठाउँमा ‘शैतानलाई घृणा गर्नु, प्रेम होइन’ भनेर लेखिएको रहेछ। रावियाले उक्त वाक्यलाई काटिदिनुभयो। केही दिनपछि अर्का एकजना सन्त उहाँलाई भेट्न आउनुभयो। उहाँसोही पुस्तक पढ्न थाल्नुभयो। पढ्दै जाँदा काटेको वाक्यमा उहाँका आँखा परे। कोही अबुझ, धर्मको ज्ञान नभएको अज्ञानी व्यक्तिले यो वाक्य काटिदियो होला भन्ने सोच्नुभयो सन्तले। त्यही वाक्य रावियालाई देखाउँदै सन्तले भन्नुभयो, ‘राविया यो वाक्य काट्ने व्यक्ति पक्कै नास्तिक होला है !’ रावियाले भन्नुभयो, ‘यो वाक्य त मैले काटिदिएकी हुँ।’ सन्तले भन्नुभयो, ‘राविया, तिमी यति महान् महिला सन्त भएर पनि यो हिम्मत कसरी र्गयौ? शैतान त मानिसका शत्रु नै हुन् नि ! तिनलाई प्रेम होइन घृणा गर्नुपर्छ भन्ने कुरा ठिकै त हो नि ! तिमी कुन आधारमा यो वाक्यसँग सहमत हुन सक्दिनौ? ’ सन्तका कुरा सुनेर मुस्कुराउँदै रावियाले भन्नुभयो, ‘पहिले मलाई पनि यस्तै लाग्थ्यो। मानिसका दुस्मन शैतानहरूलाई घृणा नै गर्नुपर्छ किनकि त्यतिबेला मैले प्रेम के हो जानेकी थिइनँ। तर जब मैले प्रेम जानें, प्रेमको अनुभूति गर्न थालें, मभित्र प्रेम मात्र बर्सिन थाल्यो तब म आफैं पनि आश्चर्यमा पर्न थालें कि कसलाई घृणा गरूँ? ’

मैले सबैतिर प्रेम नै प्रेम, सबैमा प्रेम नै प्रेम देख्न थालें। घृणा भन्ने चिज कहाँ छ? म त कहीं, कसैमा घृणा देख्दै देख्दिनँ। सन्तले फेरि सोध्नुभयो, ‘तिम्रो आशय यही हो कि जसले हामीलाई घृणा गर्छ, उसलाई पनि हामी प्रेम गरौं? ’ रावियाले भन्नुभयो, ‘प्रेम गर्ने चिज होइन। प्रेम त हामीभित्र आफैं अंकुरित हुने भावना हो। प्रेम अंकुरित हुनासाथ हामीभित्र घृणाका लागि स्थान नै हुँदैन। हामी सधैं सोच्ने गर्छौं कि हामीलाई कसैले प्रेम गर्दैन। प्रेम अरूबाट पाउने कुरा होइन। यो त दिने कुरा हो। हामीले प्रेम दिन जान्यौं भने शैतानले पनि प्रेमकै हात अगाडि बढाउने मौका पाउँछ। मुस्लिम सम्प्रदायकी महिला सन्त रावियाको यो हिम्मत र यथार्थ कुरालाई सजिलै परिवर्तन गर्ने साहस राखेको देखेर सन्त आश्चर्यचकित हुनुभयो। किनकि मुस्लिमजस्तो कठोर सम्प्रदाय र धर्मग्रन्थमा लेखिएको कुरा कसैले काट्नु भनेको धेरै साहसको कुरा हो। र पनि सन्तलाई रावियाको कुरा चित्त बुझ्यो र उहाँले समर्थन जनाउनुभयो। राविया तिमीले उक्त वाक्य काटेर ठीक र्गयौ।

वास्तवमा हाम्रो भित्रबाट स्वस्फूर्त रूपमा प्रेम प्रकट हुन दिएकै छैनौं हामीले। अहंकारस्वरूप हामीले आफैं प्रेम गरेका छौं भन्ने भ्रममा परेका छौं। त्यही कारणले त संसारमा घृणा र द्वेष फैलिएको छ। वास्तवमा धर्म, इश्वर र प्रेम एकै हुन्, जसले दिन्छन् र दिएको बदलामा केही माग्दैनन्। प्रकृति, अस्तित्व, हाम्रा मातापिताले विनाअपेक्षा हामीलाई दिने मात्र काम गरेका छन्। जुन प्रेम, ममता, संरक्षण, संस्कार दिएका छन्, त्यसको बदलामा केही चाहेका छैनन्। प्रकृतिलाई हेरेर पनि हामी थाहा पाउँछौं प्रेम के हो भनेर। फूल चुँडेर प्रयोग गरे पनि, रूख काटेर नास गरे पनि, प्रकृतिका सबै चिजलाई मानिसले आफ्नो आवश्यकता पूरा गर्न भोग गरे पनि प्रकृतिले दिने काम रोकेकी छैनन्। व्यक्तिले नष्ट गरे पनि विनागुनासो प्रकृतिले फेरि उपलब्ध गराएकै हुन्छिन्।अन्नपुर्ण

ताजा समाचार