उज्यालो खोजौं आफैंभित्र !

Share post:

डा. साधना प्रतीक्षा
लैंगिक हिंसाविरुद्धको अभियान चलिरहेको छ। केही समययता हरेक वर्षका सोह्र दिनहरू यसरी नै अभियानका रूपमा बित्छन्। पितृसत्तात्मक समाजमा महिला वर्गमाथि हुने विभिन्न हिंसाका घटना उजागर गरेर अनि त्यसबाट महिलाको मुक्तिका लागि अनेक कार्यक्रम हुने गर्छन्। सरकारी(गैरसरकारी संघसंस्था, राजनीतिक दलका भ्रातृ संगठन, अधिकारकर्मी, नागरिक समाज आदिद्वारा सञ्चालन गरिने यस्तो अभियान चलिरहँदा लाग्छ, यो नै अन्तिम अभियान होला। समाजमा अब यस्ता घटना हुनै छैनन् जसका कारण यस प्रकारका अभियान पुनः चलाउन परोस् ! तर मेरो यो आकांक्षामा तुषारापात त्यतिबेला पर्ने गर्छ, जब एउटा शिक्षित, सभ्य र सम्पन्न परिवारकी महिला पतिले दिने मानसिक यातनाबारे बोल्न नसकेर आँसु पिएर बाँच्न विवश हुन्छे ! एउटी किशोरी आफ्नो परिचित र विश्वासिलो व्यक्तिबाटै यौनहिंसाको सिकार हुन्छे अनि एउटी अबोध बाला नाता(सम्बन्धभित्रकै पुरुषको पासविक चाहनाको ज्वालामा होमिएर मृत्युवरण गर्न पुग्छे ! एक्काइसौं शताब्दीको हाम्रो उन्नत समाजमा छोरी भ्रूणको लिंग पहिचान गरी हत्या गर्ने क्रम घट्नुको सट्टा बढिरहेको छ।

कहीं दाइजो ल्याउन नसक्ने बुहारीहरू जलिरहेकै छन् भने कतै छाउपडीका नाममा एकलासे गोठमा छोरीहरू निस्सासिइरहेकै छन्। विकट गाउँबस्ती र चेतनाविहीन झुपडीहरूको कथाव्यथा बेग्लै छ भने सहरका अग्ला भवन र सुकिला गल्लीहरूको कथा बेग्लै छ। ती सबैमा उत्पीडित पात्रका रूपमा महिला वर्ग नै रहेका छन्। फरक यति हो( कसैका पीडा व्यक्त हुन्छन् भने कसैका अव्यक्त रहन्छन्। विभिन्न कार्यस्थलमा कार्यरत स्वावलम्बी महिलाका आफ्नै कटु भोगाइ छन् भने विनापारि श्रमिक सोह्र घण्टा घरेलु श्रममा खटिने गृहिणीहरूका गाथा उस्तै छन्। फरक यति हो( कतिपय पीडा दृश्य हुन्छन् भने कतिपय अदृश्य रूपमा रहेका छन्।

एकबिहानै अखबारका पाना पल्टाउँछु, आपूmलाई ‘सिद्धबाबा’ भन्ने सन्त भेषधारीलाई बलात्कारको आरोप लागेको खबर छापिएको देख्छु ! सामाजिक सञ्जालका भित्ताहरूमा एउटा बाबुले आफ्नै छोरी बलात्कार गरेको घटना भाइरल भइरहेको हुन्छ। उमेर ढल्केपछि र रोगले च्याप्दै लगेपछि पतिलाई यौनतृप्ति दिन नसक्दा जीवनको उत्तराद्र्धमा पतिबाट त्यागिँदाको गुनासो सुनाउँदै गरेकी एक परिचितको मायालाग्दो अनुहार आँखावरिपरि छँदैछ ! पतिको मुक्का र लातको प्रहारले बनेका घाउहरूलाई झुक्किएर लड्दा बनेका घाउ भन्दै वास्तविकता लुकाएर बस्न बाध्य दिदीबहिनीहरू पनि बग्रेल्ती देखेकी छु। यति मात्र होइन, जागिरको प्रलोभन देखाएर यौन हिंसाको सिकार बनाइएकी यौवनाको मौन चीत्कार पनि यतै कतै छ ! माथिल्लो तहका अधिकारीहरूबाट कार्यक्षेत्रमा शारीरिक तथा मानसिक उत्पीडन झेल्नुपरे पनि डर(धम्कीका कारण मौन बसेका असंख्य महिलाका कथा पनि यहीं छन्।

यतिबेला मलाई उनको सम्झना भइरहेको छ। पढेलेखेकी उनलाई शिक्षित केटो र सम्पन्न परिवारमा दिन पाइयो भनेर माइती मक्ख परेका थिए। साथीको सुखद भविष्यको कल्पनामा म पनि रमाएकी थिएँ तर बिहेपछिका प्रत्येक भेटमा मलाई उनको अनुहारबाट खुसी हराउँदै गरेको आभास भएको थियो। बिहेको १० वर्षपछि त्यस दिन एकान्तमा उनी मसँग भक्कानिएर रोइन्। उनका परेलीबाट झरेको आँसुका प्रत्येक बूँदले बितेका १० वर्षमा पतिबाट पाएको शारीरिक र मानसिक हिंसाको साक्ष्य दिइरहेका थिए। उनले कसैसँग नभन्ने वाचाबन्धन गराएपछि मात्र मलाई त्यो यथार्थ बताएकी थिइन्। घरको प्रतिष्ठा, माइतीको इज्जत, समाजको टीकाटिप्पणी अनि छोराछोरीको भविष्य आदि सबै परिबन्धभित्र उनले आफैंसँग सम्झौता गरिन्। त्यसैले, न उनी हिंसाविरुद्ध उत्रन खोजिन् न त मैले नै उनका मुद्दा बाहिर ल्याउन सकें !

उनी त केवल एक प्रतिनिधि पात्र हुन्। हाम्रो सामाजिक परिवेशमा आज उनीजस्ता असंख्य महिला शारीरिक तथा मानसिक रूपमा हिंसाको सिकार भएर पनि त्यसविरुद्ध आवाज उठाउन सकिरहेका हुँदैनन्। पारिवारिक विखण्डनको डर तथा आफन्तको प्रतिष्ठाका लागि उनीहरू मौन बसिरहेका हुन्छन् मानौं परिवार तथा आफन्तको खुसी र प्रतिष्ठाको दायित्व केवल महिला वर्गको हो ! जब(जब महिलासँग जोडिएका अप्रिय घटना बाहिरिन्छन्, समाजले उनीहरूकै कमजोरी देखाउने गर्छन्।

सहअस्तित्व स्वीकार गरेर सबैले आआफ्ना परिवारलाई हिंसामुक्त बनाउने हो भने समाज स्वतः हिंसामुक्त हुन जान्छ।
स्मरण रहोस्, ‘मी(टु’ अभियानअन्तर्गत महिलाहरूले आफूमाथि भएका दुव्र्यवहार तथा हिंसाका बारेमा बोलेका बेला समाजले उल्टै उनीहरूकै आलोचना गरेको थियो। यसको कारण, पितृसत्तात्मक समाजमा पुरुषमात्र होइन, महिला स्वयम् पनि पुरुषवादी मूल्यलाई आत्मसात् गर्दै महिलाकै प्रगतिमा वाधक बनिरहनु हो। आफ्नो छोराले अर्काकी छोरीको इज्जतमाथि खेलवाड गर्दा ढाकछोप गर्ने आमा, पतिले अन्य महिलमाको चरित्र हत्या गरिरहँदा हतोत्साही गर्नुको सट्टा मलजल गरिदिने पत्नी आदिका पितृसत्तात्मक पक्षधरताका कारण पनि पीडित महिलाका आवाज दबिने गर्छन्।

महिला हिंसाको सन्दर्भमा, निम्नवर्गीय महिलाहरू प्रायः शारीरिक हिंसाको सिकार हुने गर्छन्। आर्थिक स्रोत(साधन, चेतना र पहुँचको अभावमा उनीहरूले त्यसविरुद्ध आवाज उठाउन सकिरहेका हुँदैनन्। अशिक्षा तथा परनिर्भरताका कारण उनीहरू सहनुलाई नै आफ्नो नियति ठानेर यथास्थितिसँग सम्झौता गरिरहेका हुन्छन्। सम्भ्रान्त वर्गका महिलाको छुट्टै संसार हुन्छ। अवसर तथा सुख(सुविधा प्राप्त उनीहरूलाई न संघर्षको आवश्यकता पर्छ न त समाज परिवर्तनको खाँचो नै ! मध्यमवर्गीय महिलाले नै सर्वा्धिक प्रताडना झेल्ने गर्छन्। किनभने उनीहरू एकातिर स्वअस्तित्व र पहिचानतर्फ अग्रसर हुन्छन् भने अर्का्तिर पुरातन मूल्यविरुद्ध आवाज उठाउने पनि गर्छन्।

युगौंदेखि परिवार र समाजमा एकछत्र हैकम जमाउँदै आएको पुरुष वर्गले सर्वा्धिक खतरा यिनै महिलामा देखेको हुन्छ। यिनीहरूको अभियान सफल भएमा आफ्नो सत्ता गुम्ने भयका कारण पनि पुरुष वर्गले अधिक प्रताडना यिनैमध्येका महिलालाई दिने गर्दछ। त्यसैले यो वर्गका महिलाहरू मानसिक रूपले बढी पीडित भएका हुन्छन्। शारीरिक हिंसा देखिन्छ, उजुरी वा मुद्दाका लागि प्रमाण जुटाउन सकिन्छ तर मानसिक हिंसा न देखाउन सकिन्छ, न त न्यायका लागि प्रमाण नै जुटाउन सकिन्छ ! अतः हिंसाका यस्ता घटना घट्नुको साँटो बढ्दै गएको देखिन्छ।

महिला वर्ग यसरी दिनानुदिन पीडित बन्दै जाने यथार्थका पछाडि अनेक कारणभए पनि मुख्यरूपमा दुईवटा कारण देखिन्छन्, पहिलो( महिलालाई केवल वस्तुका रूपमा हेर्ने पुरुष दृष्टिकोण। दोस्रो( परिवार र आफन्तको प्रतिष्ठाका लागि सबै पीडा चुपचाप सहने नारी स्वभाव। यी दुवैमा परिवर्तन नआएसम्म हिंसाविरुद्धको अभियान प्रभावकारी बन्न सक्दैन। भारतीय लेखिका महादेवी वर्माको ‘पुरुषले महिलालाई होइन, महिलाको सहनशीलतालाई दण्डित गर्दै आएको छ’ भन्ने भनाइ यस सन्दर्भमा मार्मिक लाग्छ। किनभने जबसम्म महिला सहँदै जान्छन्, पुरुषले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन चाहँदैन। जुन दिन महिला सहनशीलताका सारा बाँध भत्काएर आधिकार र न्यायका लागि उर्लनेछन् तब पुरुष पनि आफ्नो सोच बदल्न बाध्य हुनेछ !

आफैंभित्रको सुगन्ध पहिचान गर्न नसकी यत्रतत्र भौंतारिइरहने कस्तुरी(मृगको जस्तै अवस्था छ आज हामी आम महिलाको। जबसम्म हामी आपूmभित्रको शक्ति पहिचान गर्न सक्दैनौं तबसम्म हामीलाई कमजोर बनाइन्छ। जबसम्म हामी आत्मसम्मान बोध गर्न जान्दैनौं तब अरूको सम्मानको अपेक्षा पनि निरर्थक हुनेछ। अहिले हामी आफैंभित्र अँध्यारो बोकेर बाहिर उज्यालो खोज्दै हिँडेका छौं, त्यसैले त हाम्रो यात्राले गन्तव्य भेट्न सकिरहेको छैन ! महिला हिंसाविरुद्ध हरेक व्यक्ति अनि परिवार सचेत हुने हो भने सहअस्तित्वलाई स्वीकार गरेर सबैले आफ्नो परिवारलाई हिंसामुक्त बनाउने हो भने समाज स्वतः हिंसामुक्त हुन जान्छ। यसका लागि सद्भाव, सदाचार, नैतिकता अनि सात्विक जीवनशैलीलाई हरेक व्यक्तिले आत्मसात गर्नुपर्ने हुन्छ। छोरीलाई सानैदेखि ‘वस्तु’ होइन ‘मान्छे’ हौं भन्ने चेतनाले सिँचित गर्दै हुर्काउनुपर्छ। ‘छोरी मान्छेले सहनुपर्छ’ भन्ने अनि पुतली झैं सिँगार्ने र आधा शरीर देखिने परिधानमा सजाउने परिपाटीको पनि अन्त्य गरिनुपर्छ।

जबसम्म महिलाले उपयोगै नगर्ने वस्तुमा समेत महिलाको शरीर प्रदर्शनको विज्ञापन गर्ने(गराउने ‘कमाउमुखी’ संस्कृतिको अन्त्य हुँदैन, जबसम्म महिला स्वयम् पसिना बगाउँदै रुखोसितो खाएर आत्मनिर्भर हुनुको सट्टा पुरुषको दासी र मनोरञ्जनको साधन भएर विलासी जीवनशैलीमा रमाइ नै रहन्छन् तबसम्म महिला ‘वस्तु’ नै ठानिइरहन्छन् ! महिला हिंसाविरुद्धको सबैभन्दा प्रभावकारी अभियान भनेको आत्मरूपान्तरण नै हो। चाहे पुरुष होस् चाहे महिला, हरेकले आफ्नो मनमा स्थापित विभेदकारी मूल्य त्यागेर समतामूलक विचारको वीजारोपण गर्नु नै लैंगिक हिंसाविरुद्धको सफल अभियान हुनेछ। किनभने ऐन(कानुन भनेको हिंसा भइसकेपछिको उपचार हो तर आत्मरूपान्तरणले हिंसा हुनबाटै रोक्छ। त्यसैले हरेक मनमा नारीमैत्री चेतनाको उज्यालो खोजौं, हिंसामुक्त समाजको निर्माण गरौं !अन्नपुर्ण

ताजा समाचार