महेन्द्रनगर ।
मर्मत, सम्भारको अभावमा जीर्ण बन्दै गएको पर्यटकीय गन्तव्य एसियाको दोस्रो लामो दोधारा– चाँदनी झोलुङ्गे पुलमा मर्मत, सम्भारको काम भइरहेकाले छ ।
महाकाली पारीको दोधारा– चाँदनीलाई कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म जोड्ने दोधारा– चाँदनी झोलुङ्गे पुल जीर्ण हुँदै गएपछि मंसिर २१ गतेदेखि मर्मत, सम्भारको काम जारी रहेको छ ।
सुुदूरपश्चिम प्रदेश सरकार मातहातको जिल्ला पूर्वाधार विकास कार्यालय कैलालीको ४९ लाख ५० हजार लगानीमा पुलको मर्मत कार्य भइरहेको हो ।
मंसिर २१ गतेदेखि सुरु भएको पुल मर्मत, सम्भारको काम अन्तर्गत पुलमा रहेको १२ वटा सेक्सनमध्ये हालसम्म तीन वटा सेक्सनको काम सकिएको मर्मतको जिम्मा पाएको खाम्पाचे /देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स जेभी अमरगढी डडेल्धुराका प्रोप्राइटर डम्बरदत्त भट्टले दैनिक सञ्चारलाई बताए ।
तीन सेक्सनमा स्टेल डेक राख्ने लगायतको काम सम्पन्न भएको उनले बताए । ‘मंसिर २१ गते शनिवारदेखि दैनिक ५ घण्टा आवतजावत बन्द गरेर काम भइरहेको छ ।
मंसिर २९ गतेभित्र काम सक्नु पर्ने अवधि हो तर दैनिक ५ घण्टा मात्र काम गरेर सो अवधिमा काम नसकिने हुँदा म्याद थपको तयारी गर्दैछौँ ।’ उनले भने, ‘राती पनि २ घण्टा काम गर्ने भनेको तर वातावरणले साथ नदिएकाले रातीको दुई घण्टालाई पनि दिनमा नै मिलाएर दैनिक ७ घण्टा काम गर्ने तयारीमा छौँ ।’
विसं २०६१ मा निर्माण गरिएको एक हजार चार ५६ मिटर लम्बाई तथा १.५ मिटर चौडाई रहेको पुलको मर्मत सम्भारमा ध्यान नदिँदा पुल जीर्ण बन्दै गएको थियो ।
पुलमा लगाइएका नट वोल्टहरु खिया लागेर जीर्ण भएका छन भने कति त चोरी भएका छन् । दायाँ, बायाँ लगाइएका जालीहरु च्यातिएको तथा चर्किएको अवस्था छ । हाल भने पुलको मर्मत कार्य जारी रहेको छ ।