महेन्द्रनगर ।
एसियाको दोस्रो लामो दोधारा– चाँदनी झोलुङ्गे पुल भएर आवतजावत गर्न रोक लगाइएको छ । मर्मत, सम्भारको अभावमा जीर्ण बन्दै गएको दोधारा– चाँदनी झोलुङ्गे पुलमा मर्मत, सम्भारको काम भइरहेकाले पुल दैनिक ५ घण्टाका लागि बन्द गरिएको हो ।
महाकाली पारीको दोधारा– चाँदनीलाई कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म जोड्ने दोधारा– चाँदनी झोलुङ्गे पुल जीर्ण हुँदै गएपछि मंसिर २१ गतेदेखि मर्मत, सम्भारको काम जारी रहेको छ ।
मर्मत, सम्भारको अवधि अर्थात पुस ५ गतेसम्म बिहान ७ः१५ देखि ९ः१५ तथा बिहान ११ बजे देखि २ बजेसम्म गरि दैनिक ५ घण्टा पुल भएर आवतजावतमा रोक लगाइएको मर्मतको जिम्मा पाएको खाम्पाचे/देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स अमरगढी डडेल्धुराका प्रोप्राइटर डम्बरदत्त भट्टले दैनिक सञ्चारलाई बताए ।
‘मंसिर २१ गते शनिवारदेखि दैनिक ५ घण्टा आवतजावत बन्द गरेर काम भइरहेको छ । मंसिर २९ गतेभित्र काम सक्नु पर्ने अवधि हो तर दैनिक ५ घण्टा मात्र काम गरेर सो अवधिमा काम नसकिने हुँदा म्याद थपको तयारी गर्दैछौँ ।’ उनले भने, ‘राती पनि २ घण्टा काम गर्ने भनेको तर वातावरणले साथ नदिएकाले रातीको दुई घण्टालाई पनि दिनमा नै मिलाएर दैनिक ७ घण्टा काम गर्ने तयारीमा छौँ ।’
सुुदूरपश्चिम प्रदेश सरकार मातहातको जिल्ला पूर्वाधार विकास कार्यालय कैलालीको ४९ लाख ५० हजार लगानीमा पुलको मर्मत कार्य भइरहेको छ । मंसिर २१ गतेदेखि सुरु भएको पुल मर्मत, सम्भारको काम अन्तर्गत पुलमा रहेको १२ वटा सेक्सनमध्ये हालसम्म तीन वटा सेक्सनको काम सकिएको खाम्पाचे/देबभूमि कन्स्ट्रक्सन तथा कवालिटी सप्लायर्स अमरगढी डडेल्धुराका प्रोप्राइटर भट्ट बताउँछन् ।
तीन सेक्सनमा स्टेल डेक राख्ने लगायतको काम सम्पन्न भएको उनले जानकारी दिए । विसं २०६१ मा निर्माण गरिएको एक हजार चार ५६ मिटर लम्बाई तथा १.५ मिटर चौडाई रहेको पुलको मर्मत सम्भारमा ध्यान नदिँदा पुल जीर्ण बन्दै गएको थियो ।
पुलमा लगाइएका नट वोल्टहरु खिया लागेर जीर्ण भएका छन भने कति त चोरी भएका छन् । दायाँ, बायाँ लगाइएका जालीहरु च्यातिएको तथा चर्किएको अवस्था छ । हाल भने पुलको मर्मत कार्य जारी रहेको छ ।