गएको डेढ महिनायता बैतडीको दशरथचन्द नगरपालिका –९, ग्वाल्लेकमा श्रृंखलाबद्ध चोरीको घटना बढिरहेको छ । कात्तिक १० गतदेखि दिनहुँजसो चोरीका घटना भैरहेपनि प्रहरीले अझैसम्म घटनामा संलग्नहरुमा पक्राउ गर्न सकेको छैन ।
यो पनिः दोधारा–चाँदनीको एक सहकारीबाट ४ लाख चोरी
चोरले घर तथा पसलमा क्षति र्पुयाउन थालेपछि स्थानीयबासी हैरान बनेका स्थानीय शिवराज जोशीले जानकारी दिए। चोरले घर तथा पसलको ताल्चा फोडेर सामान लागे गरेको र केही ठाउँमा आगजनी गर्ने गरेको जोशीले बताए।
कात्तिक १० गतेदेखि हालसम्म स्थानीयका १७ घर तथा पसलवाट चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। एउटा बोर्डिङ स्कुलको ताला तोडेर कागजपत्रमा आगजनी समेत गरिएको छ।
यस्तै मावि लमौता नजिकै रहेको प्रसुती सेवा केन्द्रको ढोकामा चोरहरुले तोडफोड गरेका छन्। गाउँमा श्रृंखलाबद्ध रुपमा चोरी हुन थालेपछि स्थानीयबासी त्रसित बनेका छन्। चोरले अहिलेसम्म धेरै ठाउँमा चोरी गरेकाले गाउँलेहरु त्रसित बनेका स्थानीय शंकरदत्त जोशीले जानकारी दिए।
प्रहरी टोली परिचालन ग्वाल्लेकमा चोरीका घटना बढ्दै गएपछि प्रहरी सहायक निरीक्षक अम्बादत्त जोशी नेतृत्वमा जिल्ला प्रहरी कार्यालयवाट १६ जना प्रहरीको टोली सो क्षेत्रमा खटाएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए।
घटना चोरी गर्ने उद्देश्यले नभई आतंक मच्चाउने हिसाबले भइरहेको प्रवक्ता विष्टको भनाई छ। प्रहरी सहायक निरीक्षक अम्बादत्त जोशी नेतृत्वको प्रहरी टोली खटिएको भएपनि चोरलाई भने समात्न सकिएको छैन।
प्रहरीले सादा पोसाकमा गस्ती गरिरहेको जनाइएको छ। चोरीका घटना बढ्दै गएपछि राती १० बजेपछि गाउँमा हिडडुल गर्न रोक लगाइएको छ। शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखेर राती हिडडुल गर्ने कार्यमा रोक लगाइएको प्रहरीले जनाएको छ ।