महेन्द्रनगर ।
नक्कली नोट छाप्ने गिरोहका नाइके भनिएका महेन्द्रनगरका तेजबहादुर कार्की महेन्द्रनगर बजारबाट पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनलाई मंगलवार पक्राउ गरेको प्रहरी निरीक्षक मोहनजंग बुढथापाले दैनिक सञ्चारलाई बताए ।
कार्की शुक्लाफाँटा नगरपालिका- १ बनसाहका हुन ।
पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक बुढथापाले बताए ।
यस अघि साउन १७ गते नक्कली नोट छाप्ने गिरोहका केही व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई धनगढी उपमहानगरपालिका १ को नैनादेवी टोलबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका चार जनाबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिन समेत बरामद गरेको थियो ।
त्यो बेला कैलाली चुरे गाउँपालिका १ का २५ वर्षीय खगेन्द्र रजवार, चुरे १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उप महानगरपालिका वडा ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी बर्दिबास ६ का २५ वर्षीय गोकुल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूसँग नक्कली नोट छाप्ने मेसिनसहित नोट छाप्न प्रयोग भएको २२० थान सेतो पेपर तथा नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको थियो । त्यस बेला फरार रहेका कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।