महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
स्रोतका अनुसार विश्वविद्यालयको उपकुलपतीका लागि रमेश भट्टराई, भारती जोशी र पूर्णबहादुर चन्दको नाम सिफारिस गरिएको छ ।
विश्वविद्यालयका सह कुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वको टोलिले केही दिन अघि प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको हो ।
उपकुलपतिमा सिफारिस भएका भट्टराई त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्राध्यापक हुन्।
यस्तै प्राध्यापक भारती जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापन गराउँदै आएकी छन् भने सिफारिसमा पर्ने अर्का प्राध्यापक चन्द अहिले विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवार निर्वाह गरिरहेका छन् ।
तीनै जना नेकपा निकट मानिन्छन् । सिफारिस गरिएका तीनै जनाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एकजनालाई उपकुलपतिमा नियुक्त गर्ने छन् ।