वृद्धभत्ता लिन दुई दिन पैदल हिड्छन् जोगबुडाबासी

Share post:

महेन्द्रनगर । वृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणपछि ज्येष्ठ नागरिकलाई समस्या उत्पन्न भएको छ । बैंकहरू सदरमुकाम केन्द्रित हुने भएकाले रकम झिक्न दुई दिनसम्म पैदल हिँड्नु पर्ने समस्या छ ।

ग्रामीण गाउँ बस्तीमा सडक छैन । गाउँ बस्तीमा बैंक पनि छैनन् । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता दिन ज्येष्ठ नागरिक बूढापाकाले दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाधयता डडेल्धुरामा छ ।

जिल्लाको भित्री मधेस जोगबुडाको परशुराम नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेहरुले दुई दिन पैदल हिँड्नु पर्ने बाध्यता छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी लिएको ग्लोवल आइएमई शाखा जोगबुडा लाल ढुंगाबजारले वडा कार्यालयमा नगई नगरपालीका सदरमुकाममै वितरण गरिरहेकाले सामाजिक सुरक्षा भत्ता लिनेहरूले सास्ती भोग्नु परेको हो। परशुराम नगरपालिका ८ आइडुंग्राका मौरसिंह साउँदलाई ज्येष्ठ नागरिक भत्ता लिनका लागि दुई दिनको पैदल बाटो हिँड्न पर्दछ।

ज्येष्ठ नागरिक भत्ता लिनका लागि आउँदा साउँदले घरबाट आएर बाटोमै एक दिनको बास बसी परशुराम नगरपालिका सदरमुकाम लालढुंगास्थित ग्लोबल आइएमई बैंकमा पुग्छन्।

‘दुई दिन पैदल हिँडेपछि मात्रै बैंक पुगिन्छ’ ७२ वर्षीय साउँदले भने, ‘बैंकमा पुगेपछि पनि लाइनमा बस्नुपर्छ। दुई दिन जसो त बैंकमा नै लाग्ने भएकाले घर आउजाउ गर्नमै पाँच दिन लाग्छ।’ सरकरले भत्ता त दियो तर लिन समस्या नै रहेकाले सहज गरिदिन उनको आग्रह छ। यसैगरी, वडा नम्बर १० जोजलाकी उजली ओखडालाई ज्येष्ठ नागरिक भत्ता लिनका लागि नगरपालिका सदरमुकाम पुग्न ६ घण्टा पैदल हिँड्नु पर्ने बाध्यता रहेको छ।

उनीहरू मात्रै नभई नगरपालिकाका अधिकांश वडाका सामाजिक सुरक्षा भत्ता लिनेहरूको समस्या यस्तै हो। परशुराम नगरपालिकाका अधिकांश वडाका गाउँमा यातायातको पहुँच नभएकाले पनि सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिका सदरमुकामसम्म पुग्न पैदलै हिँड्नु पर्ने बाध्यता रहेको छ।

डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकामा पनि यस्तै समस्या छ। यहाँका ज्येष्ठ नागरिकले पनि भत्ता बुझ्नाको लागि जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ। वडा कार्यालयबाटै वितरण गरि दिन आग्रह बैंकहरुले सामाजिक सुरक्षा भत्ता दिनका लागि सहज नगर्दा ज्येष्ठ नागरिकहरुले दिनभर जसो लाईनमै बस्नु पर्ने अर्का समस्या छ।

नगरपालिका सदरमुकाम सम्म आउन समस्या भएकाले सामाजिक सुरक्षा भत्ताको रकम वडा कार्यालय बाटै वितरण गरि दिन उनीहरूको आग्रह छ।

वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मौखिक सहमति भएपनि कागजी रूपमा सम्झौता नगर्दा अहिले ग्लोवल आइएमइ बैक शाखा लालढुंगाले नगरपालीका सदरमुकाममै सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिरहेको छ।

बैंकलाई कारवाही गरेर भएपनि अवको चौमासिकमा वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको परशुराम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए।

सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको ग्लोवल बैंक शाखाले सुरक्षासहितका विभिन्न कारण देखाउँदै रकम वितरणका लागि वडा कार्यालयमा गएको छैन।

वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गर्ने वितरण गर्दा वडा कार्यालयमा नजाने बैंकहरुलाई कारवाहीको दायरामा ल्याइ वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि सरोकारवाला निकायले पहल गर्नु आवश्यक ज्येष्ठ नागरिकको माग छ ।

ताजा समाचार