सुदूरपश्चिमप्रदेश सरकारले सेती प्रादेशिक अस्पताल परिसरभित्र निजी फार्मेसी संञ्चालन नगर्न दिएको निर्देशन अझै कार्यान्वयन हुन सकिरहेको छैन ।
फार्मेसी सेवा निर्देशिकाअनुसार अस्पताल परिसरभित्र निजी फार्मेसी संञ्चालन गर्न नपाइने भन्दै तत्काल हटाउन सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई तीन महिना अघि परिपत्र गरेको थियो ।
तर सरकारको निर्देशन हाल सम्म पनि कार्यान्वयन हुन सकेको छैन । सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल संञ्चाल नगर्न प्रतिबन्द छ तर सेती प्रादेशिक अस्पतालभित्र चार वटा निजी औषधि पसलहरू संचालित छन् ।
प्रदेश सरकारले ती पसल हटाउन दिएको निर्देशन अझै कार्यान्वयन हुन सकेको छैन । पटक पटकको निर्देशन अटेरी गरेको भन्दै सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले अब कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए
। सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदले गरेको निर्णय पनि कार्यान्वयन नगरेको भन्दै उनले आक्रोस व्यक्त गरे। सरकारको निर्णय कार्यान्वयन नगर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको उनले बताए।
सेती प्रादेशिक अस्पतालको सपिङ कम्प्लेक्समा २१ वटा औषधि पसलहरु संञ्चालनमा छन् भने तीमध्ये ४ वटा औषधि पसल अस्पतालको भित्रपट्टी रहेका छन् ।
मन्त्रालयको ३५ दिनको परिपत्र आएपछि अस्पताल प्रशासनले अझै ती पसलहरू हटाउन कुनै पहल गरेको छैन । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने आफूहरूले निजी औषधि पसल हटाउन पहल गरिरहेको बताए ।
प्रदेशको एकमात्र रिफरल अस्पतालको रुपमा रेहको सेती प्रादेशिक अस्पतालमा सबै जिल्लाबाट बिरामीहरू आउने गरेका छन् ।
अस्पतालले नै सञ्चालन गरेको औषधि पसलमा सस्तोमा औषधि पाइने भए पनि त्यही रहेका निजी औषधि पसलहरूबाट बिरामीले महँगोमा औषधि किन्न बाध्य भइरहेको गुनासो बढिरहेको छ ।