महेन्द्रनगर ।
कञ्चनपुरमा जंगली जनावरको आतंकले भयावह रुप लिन थालेको छ । वन, जंगलसंग जोडिएर रहेका जिल्लाका विभिन्न क्षेत्रमा जंगली जनावरले आतंक मचाउन थालेको हो ।
पछिल्लो समय जंगली हात्तीको त्रासमा स्थानीय छन् । वन, जंगलसंग जोडिएर रहेका गाउँमा हात्तीले बितण्डा मचाउदै छ ।
वर्षौदेखि किसानले लगाएको अन्नबाली सखाप पार्नु, घरमा क्षति गर्ने समस्यालाई भोग्दै आएका यहाँका जनताले अबले जंगली जनावरको सिकार समेत हुन थालेका छन् ।
कञ्चनपुरमा जंगली जनावरको आक्रमणबाट दुई दिनको अवधिमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बेदकोट नगरपालिका–२ स्थित मुक्त कमैया शिविरका ७० वर्षीय वृद्ध सीताराम डगौँरा हात्तीको आक्रमणबाट घाइते भएका हुन ।
बुधवार राती बस्ती नजिकै रहेको जनचेतना सामुदायिक वनबाट बस्ती छिरेको हात्तीको बथानले घरमा सुतिरहेका डगौँरालाई आक्रमण गरेको बेदकोट नगरपालिका २ का वडाध्यक्ष नरेश सिंहले दैनिक सञ्चारलाई बताए ।
हात्तीको बथानले डगौँराको घरमा समेत क्षति पुर्याएको उनले बताए । घाइते डगौँरालाई अहिले उपचारका लागि महाकाली अस्पताल ल्याइदै छ ।
हिजो (बुधवार) बिहान मात्रै महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणले मृत्यु भएको थियो ।
स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन् ।
उनिहरुमध्ये एक जनाको महाकाली अस्पताल र तीन जनाको भारतीय सहर खटिमा उपचार भइरहेको छ ।
असोज २९ गते शुक्लाफाँटा नगरपालिका–१ बन्साहका बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । यस्तै कार्तिक १८ गते बेदकोट नगरपालिका–१ की जानकी धामी पनि हात्तीको आक्रमणबाट घाइते भएकी थिइन ।
हरेक वर्ष जंगली हात्तीले मान्छेको ज्यान दिन थालेपछि सुरक्षा चुनौती समेत थपिएको छ ।
भारतीय दुधुवा नेशनल पार्कबाट आउने जंगली हात्तीको बथानले जिल्लाको पुनर्वास, शुक्लाफाँटा, महाकाली, लालझाँडी, बेलडाँडी गाउँपालिकामा निरन्तर क्षति गर्दै आएको छ ।