महेन्द्रनगर ।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जैविक मार्ग क्षेत्रमा पर्ने बन्दा ताल आसपासकै क्षेत्रमा विश्वकै दुर्लभ चरा राजधनेश र राज लाहाचे फेला परेपछि संरक्षणको प्रयासको थालनी गरिएको छ । बन्दा ताल क्षेत्रको जैविक विविधता जोगाउन नगरपालिकाले चासो देखाउन थालेको हो ।
बन्दा ताल क्षेत्रमा दुर्लभ प्रजातिका चरा पाइन थालेपछि संरक्षणका लागि योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन भइरहेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । । “जैविक मार्ग आसपासका पुरिँदै गएका ताललाई पुरानै अवस्थामा फर्काउने कार्य गरिएको छ”, उनले भने, “तालको सरसफाइसँग पुर्नभरणको कार्य गरी ताललाई पुरानो अवस्थामा फर्काएका छौँ ।”
दुर्लभ तथा अन्य प्रजातिका चरा र जीवजन्तु संरक्षणका लागिसमेत संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम अगाडि बढाउन इच्छुक रहेको उनले बताए । नेपाल पक्षी संरक्षण सङ्घ र नेपाल ग्रामीण विकास केन्द्रले गरेको पक्षी सर्वेक्षणका क्रममा जैविक मार्ग क्षेत्रमा लोपोन्मुख पक्षीसहित ८८ प्रजातिका चरा देखिएका थिए ।
अङ्गे्रजीमा गे्रट हर्न बिल भनिने हेलमेट जस्तो रङ्गिन शिर भएको राजधनेश धेरै वर्षपछि पहिलोपटक देखापरेको नेपाल पक्षी संरक्षण सङ्घका जीव विज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार प्रायजसो सानो सानो झुण्डमा देखिने यो पक्षी हेर्दा निकै नै सुन्दर र आकर्षक हुन्छ । यसलाई स्थानीय भाषामा होमराई पनि भनिन्छ जसको अर्थ जङ्गलको राजा भन्ने हुन्छ ।
हाल नेपालमा राजधनेशको सङ्ख्या १५० भन्दा कम रहेको अनुमान गरिएको छ । नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित नौ पक्षीमध्ये राजधनेश पनि एक हो । राजधनेशलाई साइटिस अनुसूची–१ मा सूचीकृत गरिएको छ । गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला र बुढा रुखका टोड्कामा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ ।
राजधनेशको भालेले पोथीलाई अण्डा पारेपछि बच्चा नहुर्कञ्जेलसम्म टोड्कामा रहेको गुँडमा नै थुनेर राख्छ । धनेश दम्पतीले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पूरै टाल्छन् र त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा तथा आहारा लिने गर्छ । ओथारो अवधिभर पोथीलाई र तत्पश्चात् बच्चालाई पनि भालेले नियमितरुपमा बाहिरबाट आहारा खुवाउने गर्छ ।
पछिल्ला दशकमा खासगरी मानवीय क्रियाकलापको परिणामस्वरुप बासस्थान सङ्कुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग, बद्लिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले थुप्रै प्रजातिका चराले सङ्कट झेलिरहेका छन् ।
हालसम्म नेपालबाट आठ प्रजातिका चरा लोप भइसकेका छन् भने विश्वमै दुर्लभ मानिएका ४४ प्रजाति र १६८ प्रजातिका चरा राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा रहेका बताइएको छ । नेपालमा बासस्थान विनाश नै चराका लागि मुख्य खतरा हो ।