काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर शुक्रबार नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार, अहिले बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु हुँदैछ । जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट नगर परिक्रमा सुरु भएर न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीम्म हुनेछ ।
परिषद्का अनुसार, त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रम समापन हुनेछ ।
राखेपले खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन सबैमा आग्रह गरेको छ । १३ औं साग गत डिसेम्बर १ देखि १० गतेसम्म नेपालमा आयोजना भएको थियो ।
प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो । उपत्यका निस्किने विभिन्न जुलुस र प्रदर्शनका कारण सवारी आवागमन प्रभावित हुने गरेका छन् ।
तर खेलाडीलाई गराउन लागिएको नागरिक अभिनन्दनका क्रममा उपत्यकाको सवारी आवागमन प्रभावित नहुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।