कञ्चनपुर–कैलालीमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

विज्ञापन

Share post:

महेन्द्रनगर ।
सुदूरपश्चिममा वर्षासंगै उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । सुदूरका तराई जिल्ला कञ्चनपुर कैलालीमा शुक्रवार बिहानैदेखि वर्षा भइरहेको छ भने बैतडी, डडेल्धुरा, दार्चुला, बझाङ्ग लगायतका जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा र हिमपातसंगै चिसो समेत ह्वात्तै बढेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यही कारण शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात हुने जनाएको थियो ।

महाशाखाले शुक्रबार मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेसमेत जनाएको हो । महाशाखाले बुलेटिनमा पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शनिबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।

विभागले मौसम बदली भएको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएकाले देशभर चिसो बढेको उल्लेख गरेको छ । महाशाखाले बिहीबार पूर्वी तराईमा सामान्य कुहिरो र हुस्सु लागे पनि आगामी २४ घण्टासम्म शीतलहरको सम्भावना नरहेको जनाएको छ ।

बुलेटिनमा बिहीबार पश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात भएको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भएको जनाएको छ ।

ताजा समाचार