महेन्द्रनगर ।
सुदूरपश्चिममा वर्षासंगै उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । सुदूरका तराई जिल्ला कञ्चनपुर कैलालीमा शुक्रवार बिहानैदेखि वर्षा भइरहेको छ भने बैतडी, डडेल्धुरा, दार्चुला, बझाङ्ग लगायतका जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले हिमपातका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको बताए। उनले बैतडी, डडेल्धुरा लगायतका जिल्लाबाट छुट्ने र भित्रिने सवारी साधन बिच बाटोमै अलपत्र परेको जानकारी दिए।
वर्षा र हिमपातसंगै चिसो समेत ह्वात्तै बढेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यही कारण शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात हुने जनाएको थियो ।
महाशाखाले शुक्रबार मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेसमेत जनाएको हो ।
महाशाखाले बुलेटिनमा पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
शनिबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।
विभागले मौसम बदली भएको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएकाले देशभर चिसो बढेको उल्लेख गरेको छ ।
महाशाखाले बिहीबार पूर्वी तराईमा सामान्य कुहिरो र हुस्सु लागे पनि आगामी २४ घण्टासम्म शीतलहरको सम्भावना नरहेको जनाएको छ ।
बुलेटिनमा बिहीबार पश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात भएको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भएको जनाएको छ ।