महेन्द्रनगरमा शक्तिशाली बम विस्फोट, एकै परिवारका २ को मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते

Share post:

जनकपुरधाम ।

धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक सहित ४ जना गम्भीर घाइते भएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो। बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

घटनामा अन्य २ जना सामान्य घाइते भएको बताइएको छ।

घरमुली साह मोटो रकम ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरुको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३/४ सय मिटरको दूरीमा पर्छ।

ताजा समाचार