महेन्द्रनगर बजारमा शक्तिशाली बम विष्फोटः मृत्यु हुनेको संख्या ३ पुग्यो, इन्स्पेक्टर दाहालको पनि मृत्यु

Share post:

जनकपुरधाम ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक भएको शक्तिशाली बम विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन जना पुगेको छ ।

बम बिस्फोटमा हुँदा घाइते भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्ः महेन्द्रनगर बजारमा शक्तिशाली बम बिस्फोट, एकै परिवारका २ जनाको मृत्यु

इन्स्पेक्टर दाहालको पनि मृत्यु भएपछि बम विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ ।

दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् । राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो ।

त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।

घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ ।

असईबाट प्रहरी सेवामा प्रवेश गरेका दाहाल पूर्वप्रधानमन्त्री झलनाथ खनालको पीएसओ पनि थिए ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

ताजा समाचार