डडेल्धुरा । शुक्रबार साँझदेखि डडेल्धुरा सदरमुकाम क्षेत्रमा हिमपात भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएकोमा डडेल्धुरा सदरमुकाममा भने साँझ ७ बजेपछिबाट मात्रै हिउँ पर्न सुरु भएको हो।
डडेल्धुरा सदरमुकाममा गत वर्ष पनि एक दशकपछि हिउँ परेको थियो। डडेल्धुरा सदरमुकामसहित घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्याधिक चिसो बढेको छ।
डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो। बिहीबार बेलुकीदेखि पानी पर्न सुरु भएसँगै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको थियो।
यस वर्ष मंसिर महिनामै पहाडका घना जंगल एवं उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो। हिमपातले एक्कासी चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।
हिउँदे यामको यो पहिलो वर्षा हुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने झरीसँगैको हिमपातले धेरै राहत पुर्याएको छ। हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। झरीसँगै हिमपात भएकोले किसानहरु भने खुसी भएका छन्।
फोटोहरु