धनगढी विमानस्थल पौष १ गते देखि पूर्ण रुपमा सञ्चालनमा आउने

Share post:

धनगढी ।

कैलालीको धनगढी विमानस्थल पौष १ गते देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । धावनमार्ग मर्मत सम्भार र विस्तारको कामलाई निरन्तरता मंसिरदेखि विमानस्थल आंशिक रुपमा बन्द भएको छ ।

विमानस्थलको ७५ प्रतिशत मर्मतको काम सम्पन्न भएको छ । पौष १ गते बाट विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको दाबी छ ।

धावनमार्गमा मर्मत सम्भार र विस्तारको काम बाँकी रहेको भन्दै एक महिनाका लागि मङ्सिर १ गते देखि दिउँसो तीन बजेदेखि बिहान ७ बजे सम्म विमानस्थल बन्द गर्ने निर्णय गरिएको थियो ।

सोही अनुसार अहिले विमानस्थलको मर्मत कार्य भइरहेको छ । विमानस्थलको धावनमार्गमा ओभरलेको काम अन्तिम चरणमा पुगिसकेकोले पौष १ गतेदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ । झन्डै १८ करोडमा धावनमार्गमा थप कालोपत्रे भइरहेको छ भने दुवैतर्फ २र२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना कार्यान्वयन भइरहेको छ ।

१८ करोडको लागतमा विमानस्थल मर्मतको काम भइरहेको बुढथापाले जानकारी दिए ।अहिले दैनिक तीन वटा उडान मात्रै भइरहेको छ भने हप्ताको तीन दिन नेपाल एयरलाइन्सले उडान भर्दै आएको छ ।

आंशिक रूपमा विमानस्थल बन्द भएपछि बुद्ध एयरले दैनिक एउटा उडान हटाएको छ ।यात्रुहरूले पनि मर्मतको क्रममा आफूहरूलाई केही समस्या रहे पनी यसको दीर्घकालीन समाधान खोजिनुपर्ने बताएका छन् ।

यसअघि जेठमा एक महिना विमानस्थल बन्द गर्दै धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो । तर त्यति बेला काम सम्पन्न नभएकोले मङ्सिर १ गतेदेखि विमानस्थल आंशिक रूपमा बन्द छ ।

१८ सय मिटर मध्ये चार सय २० मिटर धावनमार्गमा ओभरलेको काम बाँकी रहेकोमा त्यसलाई मङ्सिर १ गतेदेखि निरन्तरता दिर्ईएको छ । अव रातीको समयमा काम गर्ने गरी पौष १ गतेदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

ताजा समाचार