महेन्द्रनगर । नमुना कृषि गाउँ स्थापनाको लागि कञ्चनपुरका ८ स्थानिय तह छनोट गरीएको छ ।
शनिवार सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिबृद्धि गर्नका लागि मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कञ्चनपुरका पुनर्वास नगरपालिका १ र २ उखु बाली, बेदकोट नगरपालिका ७ तरकारी खेती, बेलौरी नगरपालिका १० उखु खेती, महाकाली नगरपालिका ७, ८, ९, १० मसला खेती, भीमदत्त नगरपालिकाका ३, ८, ९, १० केरा खेती, शुक्लाफाँटा नगरपालिका ३ तरकारी खेती, बेलडाँडी गाउँपालिका १, ३, ४ उखु र लालझाडी गाउँपालिका १,२,३,४ उखु खेतीका लागि छनोटमा परेका छन् । प्रत्येक स्थानीय तहमा बालीको छनोट गरी ५० लाखका दरले बजेटको विनियोजन गरीएको छ ।
उत्त कार्यक्रमले किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यान्त्रीकरणमा सहयोग, साना सिँचाइ निर्माण तथा मर्मत संभार र बजारीकरणमा सहयोग गरिने कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।
त्यस्तै कैलालीका ७ स्थानिय तह पनि नमुना कृषि गाउँ स्थापनाको लागि छनोट गरीएको छ ।
कैलालीका धनगढी उपमहानगरपालीका, घोडाघोडी नगरपालीका, टिकापुर नगरपालीका, भजनी नगरपालीका, कैलारी गाउँपालीका, जानकी गाउँपालीका र जोशीपुर गाउँपालीका नमुना कृषि गाउँ स्थापनाको लागी छनोट गरीए छ ।
नमुना कृषि गाउँका लागि एक सय घरघुरी समेटिएको हुनुपर्ने प्रावधान राखिएको छ । कार्यक्रमअन्तर्गत न्यूनतम क्षेत्रफल खाद्यान्न बालीका लागि ५० विघा, तरकारी बालीका लागि ३० विघा, फलफूल बालीका लागि ३० विघा, च्याउ खेतीका लागि ५० टनेल र तेलहन दलहन बालीका लागि ४० विघा निर्धारण गरिएको छ ।
कृषक भेलाबाट भएको निर्णयको प्रतिलिपिसहित सात सदस्यीय नमुना कृषक गाउँ समन्वय समिति गठन गरी कृषि ज्ञान केन्द्रमा विधान र क्षेत्रफल प्रमाणित हुने कागजपत्रसहित दर्ता हुन आएपछि छनोट गरिएका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने कञ्चनपुरका निमित्त कार्यालय प्रमुख भट्टले बताए ।