काठमाडौं । काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै कोइला बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।
अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ ।
‘भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा कोइला बालेर सुतेका रहेछन् बिहान श्रीमानले उठाउँदा उठेनछन्,’ डिएसपी कामतीले भने ।
उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमा(छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए ।
बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।