‘सीमामा सेना खटाउनु पर्छ’

Share post:

महेन्द्रनगर ।
सीमामा नेपाली सेना खटाउनु पर्ने एक कार्यक्रममा सहभागीहरुले सुझाएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा नम्बर २५ बाहिनी भगतपुरले आयोजना गरेको नागरिक सैनिक अन्तक्रिया कार्यक्रममा सहभागीहरुले सीमा रक्षाका लागि नेपाली सेना खटाउनु पर्ने सुझाव दिएका छन् ।

छिमेकी राष्ट्र भारत तथा चिन पक्षबाट नेपाली भूमि अतिक्रमणका घटना बाहिरिन थालेपछि सीमामा सेनाको आवश्यकता औल्याउन थालिएको हो ।

सोमवार नागरिक सैनिक अन्तक्रिया कार्यक्रममा बोल्दै बेदकोट उद्योग वाणिञ्ज संघका महासचिव रामचन्द्र रेग्मीले सीमामा सेनाको आवश्यकता औल्याए ।

‘सीमा सुरक्षाका लागि सेनाको महत्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय सीमा अतिक्रमणको घटना बाहिरन थालेका छन् । नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक भारतले अतिक्रमण गरेको छ । यस्ता धेरै नेपाली भू–भाग अतिक्रमण भएका छन् ।’ उनले भने ।

यस्तै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले पनि सीमामा नेपाली सेना परिचालन हुनु पर्ने सुझाव दिए । नेपाली सेनाले नागरिकमुखी काम गर्नु पर्नेमा समेत जोड दिइएको छ ।

नेपाली सेनाले सञ्चालन गर्दै आएको सर्पदंश सेवा महाकाली अस्पताल लगायत ग्रामीण भेगका अस्पतालबाट समेत दिन सकिने भएकाले यसतर्फ पनि सोच्न महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले आग्रह गरे ।

सेनाले विभिन्न क्षेत्रका विद्यालयमा गएर सचेता सम्बन्धि कार्यक्रम सञ्चालन गर्नु पर्ने शिक्षक सुरेन्द्र ओझाले सुझाव दिए । ‘सेना सचेत तथा अनुशासित भएकाले विद्यालय विद्यालयमा गएर सचेतना सम्बन्धि कार्यक्रम गर्नु पर्छ ।’ उनले भने ।

अन्तक्रिया कार्यक्रममा सहभागीहरुले नेपाली सेनाका काम, कारबाहीप्रति आफ्नो सल्लाह, सुझाव जाहेर गरेका थिए । सुझाव पश्चात् जनस्तरबाट आएका सल्लाह, सुझावलाई आत्मसात गर्दै भावी दिनमा आफ्ना कार्यक्रमहरु परिष्कृत गर्दै जाने कार्यक्रममा प्रमुख अतिथि नम्बर २५ बाहिनी भगतपुरका बाहिनीपति सहायक रथी शंकर बहादुर पण्डितले बताए ।

‘हातमा हात, काधमा काध मिलाएर सहकार्य गरि हामी अगाडि बढ्छौँ । हाम्रा कार्यक्रम अन्तर्गत अस्पताल नपुगेका ठाउँमा उपलब्ध स्रोत, साधन अनुसार सहकार्यमा शिविरहरु सञ्चालन गर्दै आएका छौँ र अझै ती कामलाई निरन्तरता दिने छौँ ।’ उनले भने,‘जनस्तरबाट आएका सल्लाह, सुझावलाई निकट भविष्यमा नै मूर्त रुप दिने छौँ ।’

यस्तै उनले अगाडि थपे, ‘सीमा मिचिएको मुद्दा राष्ट्र र हाम्रा लागि ठुलो र एक महत्वपूर्ण विषय हो । हामीलाई संविधानले व्यवस्था गरे बमोजिम सीमामा परिचालन गरिएमा तत्कालनै आफ्नो कर्तव्य पुरा गर्न तयार छौँ ।’

एक फरक प्रसंगमा सेनाका कारण विमानस्थल पुनः सञ्चालनमा बाधा सृजना नहुने बाहिनीपति सहायक रथी पण्डित दाबी गर्छन् ।

अन्तक्रियामा सहभागीहरुले मझगाउँ स्थित सेनाको ब्यारेक चर्चेको जमीनले विमानस्थलको लागि जमीन अपुग भएर विमानस्थल पुनः सञ्चालनमा बाधा पुग्छ कि भन्ने जिज्ञासामा बाहिनीपति सहायक रथी शंकर बहादुर पण्डितले सो कुरा बताएका थिए ।

‘सुदूरपश्चिम असाध्यै सुन्दर छ, यहाँ अथाहा सम्भावना रहेकाले मझगाउँ विमानस्थल पुनः सञ्चालन पश्चात् यस क्षेत्रको समृद्धि हुने छ, त्यसैले विमानस्थल पुनःसञ्चालन गर्न जरुरी छ ।’ उनले भने, ‘हामीले विमानस्थल पुनःसञ्चालनमा कुनै बाधा हुदैन । ब्यारेक हटाउनु पर्ने भए पनि यस बारे हामी माथीसम्म कुरा गरेर सो पनि मिलाउन तयार छौँ । हाम्रो कारण विमानस्थल सञ्चालन हुनबाट रोकियो भन्ने अवस्था सृजना हुन दिदैनौँ ।’

असुरक्षाको कारण देखाउँदै सशस्त्र द्धन्द्धकालमा मझगाउँ विमानस्थल बन्द गरिएको थियो । त्यसयता सञ्चालनमा आउन सकेको छैन । अन्तक्रिया कार्यक्रममा स्थानीय बुद्धिजीवि, शिक्षक, शिक्षिका, विद्यार्थी, नागरिक समाजका अगुवा लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार