काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन् ।
साथै उनले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् ।
आइतबार सिन्धुपाल्चोकको छ किल्लो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।
घटनाको भोलिपल्ट गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले घटनाबारे चासो राखेका हुन् ।
सवारी दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै उनले भने, ‘विरामी अवस्थामा रहेर हो कि म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ ।’
उनले अघि भने, ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । बृद्धबृद्धा र बालबालिकालाई बेसाहारा बनाएको छ । यसलाई रोक्ने कार्ययोजना बनाउनुपर्यो ।’
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायत सहभागी बैठकमा प्रधानमनत्री ओलीले सवारी दुर्घटना घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएका छन् ।
सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने भन्दै उनले चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण र सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिएका छन् ।