विराटनगर । मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक पाँच वर्षअघि नै कालोपत्रे भएको हो, तर बर्षभरि धुलोले ढाकिने यो सडकमा खाल्डाखुल्डी अत्यधिक छ ।
ठेकेदारको लापरवाहीका कारण सडक लथालिंग छ, २०७४ सालमा सडक कालोपत्रे गरेको एक वर्ष नबित्दै भत्किन थाल्यो । भत्किएको सडक मर्मतका लागि पटक पटक ठेकेदारलाई दवाव दिए पनि उसले चासो दिएन । ‘न सडक बनेको छ न त लापरवाही गर्ने ठेकेदालाई कारवाही नै भयो’, स्थानीय देबी बस्नेत भन्छन,‘सडकका कारण हामी बर्षभरी सास्ती ब्यहोर्न बाध्य छौं ।’
मिक्लाजुङ गाउँपालिका ९ का वडाअध्यक्ष सोमनाथ अधिकारीले उर्लाबारी–मधुमल्ला हुदै उत्तरी भेग जोड्ने सडकको दुरावस्थाका कारण त्यस क्षेत्रको समृद्धिको आधार गुमेको बताउँछन् । ‘भत्किएको सडक निर्माणका लागि स्थानीय सरकार र सरोकारवाला निकायले पटक–पटक ठेकेदारलाई दबाव दिएको छ, तर अहिलेसम्म ठेकेदारले सडक निर्माणमा कुनै चासो देखाएको छैन’ उनले भने ।
उर्लाबारी–मधुमल्ला सडक निर्माण गर्न दवाव दिन मानबहादुर श्रेष्ठको संयोजकत्वमा उर्लावारी–मधुमल्ला १२ दशमलव ४ किलोमिटिर सडक निर्माण पहल तथा दबाब समिति समेत गठन गरिएको छ ।
समितिले पटक–पटक सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता हुँदै आएको छ ।