लिम्पियाधुरा समेटेर नयाँ नक्सा तयार गरिदै

Share post:

काठमाडौं । नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशनबमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ ।

‘नयाँ नक्सा तयार गर्ने गरी प्रक्रिया अगाडि बढेको छ’, विभागका सूचना अधिकारी दामोदर ढकालले भने ।

संघीय संसदका राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका अतिक्रमित नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् । सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सिमाना काली ९महाकाली० नदी हो ।

सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । ती सम्पूर्ण भूभाग समेटेर नक्सा सार्वजनिक गर्न दिएको निर्देशन पालना नभएको भनेर आलोचना भइरहेका बेला विभागले सरकारको निर्देशनमा नयाँ नक्सा बनाउन लागेको हो ।

विभागका सूचना अधिकारी ढकाल भन्छन्, ‘नापी विभाग सरकारको निर्देशन पालना गर्ने निकाय हो, निर्देशन आएको छ । बाँकी निर्णय उचित समय आएपछि हुन्छ ।’

यो अवस्थामा नक्सा जारी गर्नुभन्दा पहिले कूटनीतिक पहल गर्नुपर्ने विभागका अर्का एक अधिकारी बताउँछन् । ‘तर, यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवाजसमेत उठिरहेको भन्दै सरकारले प्रमाणका आधारमा जति नेपाली भूभाग हो त्यसलाई समेटेर नयाँ नक्सा तयार गर्न भनेको छ । हामी सरकारले निर्णय गरेका दिन, मागेका दिन नयाँ नक्सा उपलब्ध गराउन सक्ने गरी तयारी गर्दैछौं’ ती अधिकारीले भने ।

ताजा समाचार