सागमा पदक जितेका कञ्चनपुरका ५ खेलाडी नगदसहित सम्मानित

Share post:

महेन्द्रनगर ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा राष्ट्रका लागि पदक जितेका कञ्चनपुरका पाँच खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको छ ।

मंगलवार भीमदत्त नगवरपालिका–७ ले जिल्लाबाट राष्ट्रका लागि सागमा प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीहरुलाई नगद सहित सम्मान गरेको हो ।

यस्तै चार जना प्रशिक्षकहरुलाई समेत नगद सहित सम्मान गरिएको छ । बाजागाजा सहित गाउँ परिक्रमा गराउँदै खेलाडीहरुलाई नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको भीमदत्त नगरपालिका– ७ का वडाध्यक्ष शंकर कुवँरले बताए ।

‘देशभर नै एउटै वडाबाट सहभागी पाँच जनाले खेलाडीले पदक जितेको धेरै खुसी छौँ, यो गाउँ, जिल्ला, प्रदेश र राष्ट्रकै सान हो ।’ वडाध्यक्ष कुवँरले दैनिक सञ्चारसंग भने, ‘खेलकुद क्षेत्रको विकासमा वडा कार्यालय लागेको छ ।’

सागमा भारोत्तोलनतर्फ रजत पदक जित्ने सागर भण्डारी, भारोत्तोलनमै रजत पदक जित्न सफल बिशाल सिंह बिष्ट, कुस्तीमा रजत पदक जित्ने अम्बिका भण्डारी, कुस्तीमै रजत पदक जित्ने निर्मला जाग्री र खो–खोमा कास्य पदक विजेता सन्तोष बोहरा नगद सहित सम्मानित भएका थिए ।

यस्तै कबड्डी महिलातर्फका प्रशिक्षक विष्णुदत्त भट्ट, कबड्डी पुरुषका प्रशिक्षक जय बहादुर बोहरा, कुस्तीका राजेन्द्र बहादुर चन्द र भारोत्तोलनका प्रशिक्षक जीवन प्रसाद गौतम समेत नगद सहित सम्मानित भएका थिए ।

सागमा रजत पदक विजेता खेलाडीलाई १० हजार, कास्य पदक विजेता र प्रशिक्षकहरुलाई पाँच÷पाँच हजार नगद सहित सम्मान गरिएको हो ।

ताजा समाचार