डोटी । शिखर नगरपालिका–१, कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना घरमा एक्लै छिन् । दुई दशकअघि रोजगारीका लागि भारत छिरेका श्रीमानको पद्चाप पछ्याउँदै छोरा गोपाल पनि उतै भासिएपछि उनी नितान्त एक्लो भएकी हुन् ।
१५ वर्षको उमेरमा बैवाहिक जीवनमा बाँधिएकी महिसराले श्रीमानको सुख त परै जाओस् अनुहारसम्म देख्न नपाएको दुई दशक बित्यो । ‘‘म तीन महिनाकी गर्भवती हुँदा उहाँ (श्रीमान्) ले घर छाड्नु भएको हो’’, महिसरा भन्छिन् ‘‘छोराको उमेर पनि १९ पूरा भई २० लागि सक्यो तर उहाँ आउनु भएन ।’’
सानोछँदा छोरा गोपालले गर्ने ‘बाबा खोई ?’ को प्रश्नले टाउकोमा घन बजारिएजस्तो गरी उनलाई रन्थनाउँथ्यो । सरुवातमा उनले भारत गएको भनेर छोरालाई थामथुम पारिन् । जब छोरा बुझ्ने भयो २ दशकअघि रोजगारीका लागि भारत गएका बाबु त्यसयता बेखखबर रहेको बताइदिइन् ।
सिउँदोमा सिन्दूर त छ महिसराको तर त्यो कहाँ छ भन्ने पत्तो छैन । “विगत २० वर्षदेखि न म बिधवाजस्ती भएँ न सधवाजस्ती”, मलिन अनुहार लगाउँदै महिसराले मनको भारी बिसाइन्, ‘‘श्रीमान् छन् भन्ने कि छैनन् भन्ने द्विविधामा छु ।’
विवाहलगत्तै पनि महिसराका श्रीमान् टेकवहादुर घर छोडेर गएका थिए । चार वर्षसम्म कुनै पत्तो थिएन । तर पछि घर फर्किए ।
‘‘त्यतिबलै मेरा सुसुराले अब तिमी पोइल (अर्को बिहे गर) जाऊ, त्यो (छोरा) कता पो हरायो भन्नु भएको थियो’’, महिसरा विगत फर्कंदै मलिन स्वरमा बोलिन्, ‘‘तर म श्रीमान् भनेर कुरेरै बसेँ ।’
२० वर्षदेखि श्रीमान्को पर्खाइमा बाटोमा नजर बिछ्याएकी मसिहरा हेर्दा–हेर्दै थाकिसकिन् । रुँदा–रुँदै आँसु रित्तिसक्यो । ‘‘अब श्रीमान् फर्केर आउलान् भन्ने आस पनि छैन’’, उनले एक स्वासमा निष्कर्ष सुनाउँदै भनिन् ।
बाख्रापालेर, अर्काको मेलोपात गरेर साँझ–बिहान छाक टारिन्, जीउ ढाकिन् महिसराले । माइती, देवर, जेठाजुको सहयोगमा छोरालाई हुर्काइन्, कक्षा १२ सम्म पढाइन् पनि ।
उनी छोरालाई प्रगतिपथमा हिँडाएर मेटिन लागेका जीवनका रेखालाई चम्किलो बनाउन चाहन्थिन् । त्यसैले उनले छोरालाई पढाएर नेपालमै केही गरोस् भन्ने इच्छा पालेकी थिइन् । श्रीमान् भारतमा वर्षौंदेखि हराइरहेकाले छोरा त्यसतर्फ नजाओस् भनेर उनले प्रार्थना नै गरेकी थिइन् ।
तर, खाई–नखाई हुर्काएको छोराले पनि बाबुकै पदचाप पछ्याउँदै भारत रोजेपछि उनलाई लडेमाथि मुड्की ठोक भनेजस्तै भएको छ । त्यसैले वर्षौंदेखि श्रीमान्को साथ नपाएर पनि आसाको दियो जलाएकी उनी अहिले निरास छिन् ।
‘‘१२ मा १ विषय लागेको थियो, ग्रेड बृद्धि दिन पाउँछ भन्नु भा’थ्यो सरले, तर, परीक्षा दिएर रोजगारीका लागि बाबुजस्तै गरी भारत भासिएको छोरा फर्किएर आएन’’, पढाइ छाडेर छोरा रोजगारीमा गएदेखि नै एक्लो रहेकी महिसराले मलिन स्वरमा भनिन् ।
महिसराको जस्तै पीडादायी कथा छ, कृष्णा गिरीको पनि । कृष्ण १६ वर्षको कलिलो उमेरमै वैवाहिक जीवनमा बाँधिएकी उनी सँगै जिउला, सँगै मरौंला भनेर कसम खाएका श्रीमान्ले साथ नदिएपछि विगत १६ वर्षदेखि एक्लै जीवनको रथ दौडाउन अभिशप्त छिन् ।
संकटकालको बेला थियो । महिना असार । साल ठ्याक्कै यही हो भन्ने हेक्का छैन कृष्णालाई । बरु श्रीमान् दिपक गिरी केही नभनी घरबाट चुपचाप निस्केको हिजोजस्तै लाग्छ उनलाई ।
दिन, महिना हुँदै वर्ष बित्यो । अब त डेढ दशक पनि कतिसक्यो । उनले घर छाड्दा गर्भमा रहेका छोरी १५ वर्षकी भइसकिन् । तर उनका खसम दीपक फर्केर आएका छैनन् ।
‘लामो समयसम्म फर्केर आउनुहोला भन्ने सोच्थेँ । गाउँका अरू देशबाट आएपछिसंगै आउँछन् कि भन्ने असा हुन्थ्यो’’, आँखाभरि आँसु बनाउँदै कृष्णाले भनिन्, ‘‘अब त के आउनु होला र !’
बाख्रापालेर आफु र छोराछोरीको छाक टार्दैछन् कृष्णा ।
महिसरा र कृष्णा त प्रतिनिधि पात्रमात्रै हुन् । वैदेशिक रोजगारीका लागि घर छाडेर हिँडेका यस क्षेत्रका कैयनको पाइलो घर फर्किएको छैन । परिवारका सदस्यहरू रोजगारीबाट घर नफिर्किंदा पारिवारिक बिछोड बढ्दै गए पनि यसतर्फ राज्यको ध्यान जान सकेको छैन । घर छाडेर लामो समयदेखि घर नफर्केकाको यकिन तथ्यांकसमेत राज्यसँग छैन ।