चन्द्र बहादुर तामाङ मृत्यु प्रकरणः टायर बालेर पूर्व–पश्चिम राजमार्ग ठप्प

Share post:

महेन्द्रनगर ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसीमा सडक अवरुद्ध पारिएको छ ।

सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र सवारी चालकलाई कारबाहीको माग गर्दै परिवार तथा स्थानीयहरुले बुधवार केही समय सडक अवरुद्ध पारेका थिए ।

घटनाको बिरोधमा सडकमा टायर समेत बालेका छन् । सडक अवरुद्ध पारिदा महेन्द्रनगरबाट छुट्ने र भित्रिने गाडीहरु केही बेर रोकिएका थिए । अहिले भने गाडीहरु चलिरहेका छन् ।

त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मंगलवार दिँउसो पूर्वदेखि पश्चिमतर्फ गइरहेको डिएल १ आरटी ८९४२ भारतीय नम्बरको जीपले गड्डाचौकीदेखि महेन्द्रनगर बजारतर्फ आइरहेको म २ प ९४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक भीमदत्त नगरपालिका–४ भगतपुरका चन्द्र बहादुर तामाङ (गोरे) को मृत्यु भएको थियो भने जीप चालक भीमदत्त नगरपालिका–१० जिमुवाका राकेश बम (रन्जीत) गम्भिर घाइते भएका थिए ।

हाल उनको यहाँ उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ । ।

जीप तीव्र गति कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापा बताउँछन् ।

‘तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ ।’ प्रहरी निरीक्षक बुडथापाले दैनिक सञ्चारसंग भने, ‘जीप चालकले मापसे सेवन गरेको समेत खुलेको छ ।’

सम्बन्धित सामाग्री

ताजा समाचार