महेन्द्रनगर ।
मंगलवार दिउँसो कञ्चनपुरको भीमदत्त नगररपालिका सुकासालमा भारतीय नम्बरको जीपले मोटरसाइकललाई ठक्कर दियो ।
जीपको ठक्करबाट मोटरसाइकल चालक भीमदत्त नगरपालिका– ४ भगतपुरका चन्द्र बहादुर तामाङ (गोरे) को मृत्यु भयो । जीप चालक भीमदत्त नगरपालिका–१० जिमुवाका राकेश बम (रन्जीत) गम्भिर घाइते भए ।
उनको अहिले धनगढीस्थित उपचार भइरहेको छ । जीप र मोटरसाइकल एक आपसमा ठोकिदा दुवै सवारी साधन सडकबाट हुत्तिएर झाडी परेका थिए ।
यो पनि पढ्नुहोस्ः तीव्र गति र मापसे सेवनले निम्त्याएको दुर्घटना
मंगलवार दिँउसो पूर्वदेखि पश्चिमतर्फ गइरहेको डिएल १ आरटी ८९४२ भारतीय नम्बरको जीपले गड्डाचौकीदेखि महेन्द्रनगर बजारतर्फ आइरहेको म २ प ९४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक तामाङको मृत्यु भएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापाले पुष्टि गरे ।
यस्तै जीप चालक राकेश बमलाई यहाँ उपचार सम्भव नभए पछि धनगढी रेफर गरिएको छ । यद्यपी हाल उनको अवस्थामा भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
जीप तीव्र गति कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुडथापा बताउँछन् ।
‘तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ ।’ प्रहरी निरीक्षक बुडथापाले दैनिक सञ्चारसंग भने, ‘जीप चालकले मापसे सेवन गरेको समेत खुलेको छ ।’
जीप महेन्द्रदेखि गड्डाचौकीतर्फ गइरहेको थियो । मोटरसाइकल गड्डाचौकीबाट महेन्द्रनगरतर्फ आइरहेको थियो ।
दुर्घटनामा परी ज्यान गुमाउने भीमदत्त नगरपालिका– ४ भगतपुरका चन्द्र बहादुर तामाङ (गोरे)ले भगतपुरमा किराना पसल चलाउदै आएका थिए ।
दैनिक सीमावर्ती भारतीय सहर बनबासाबाट उनि सामान लिएर आउने गर्थे । उनको यो दैनिकी नै थियो ।
तामाङ क्यारिङ समेत गर्ने गर्दथे । बनबासाबाट सामान ल्याएर महेन्द्रनगरमा व्यापारको दैनिकी बनाएका तामाङ मंगलवार पनि पसलका लागि तरकारी लिएर आउँदै थिए । तर दुखद कुरा दुर्घटनामा परेर ज्यान गुमाउनु प-यो ।