महेन्द्रनगर ।
बैतडीमा जीप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
बुधबार जयपृथ्वी राजमार्गको ढोल्यामोडबाट पुर्चाैडी नगरपालिकाको हाट आउँदै गरेको म १ ज ३२९ नम्बरको जीप पुर्चाैडी नगरपालिका–६, सनगाउँमा दुर्घटना हुँदा घाइते भएका प्रहरी जवानको उपचारको क्रममा उपक्षेत्रिय अस्पताल डडेल्धुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कृष्ण चन्दले दैनिक सञ्चारलाई बताए ।
मृत्यु हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १ का प्रहरी जवान सुदिप श्रेष्ठ रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाएका श्रेष्ठ हाट प्रहरी चौकी जादै गरेका थिए ।
बाटो चिप्लो हुँदा जीप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीप चालक पूर्णानन्द बडूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए । जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।