डडेल्धुरा । डडेल्धुराका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण नभएको पाइएको छ ।
पारस्परिक जवाफदेहिताका लागि संजीवनी नेपालले गरेको सर्वेक्षणमा विद्यार्थीको स्वास्थ्य परीक्षण नगरेको पाइएको हो। जिल्लामा संचालित केही निजी विद्यालय र सामुदायिक विद्यालयमध्ये धेरै जसो सामुदायिक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण नगरेको पाइएको हो।
परिवारमा अझै बालबालिकाको सही उपचार र रोग पत्ता लगाउन अभिभावकहरू संवेदनशिल हुन सकिरहेका छैनन्।
विद्यालयमा विद्यार्थी बिरामी भइहाले नजिकैको स्वास्थ्य संस्थामा जाने गरेका घटाल माध्यमिक विद्यालय नुवाकोटका प्रधानाध्यापक गणेशबहादुर सावदले बताए।
केही प्राथमिक उपचारका साधन विद्यालयमा राख्ने गरेको भएपनि व्यावहारिक रूपमा प्रयोग हुन नसकेको उनको भनाइ छ। ‘गत वर्ष विद्यार्थीको आँखा परीक्षण गर्न सरकारले विद्यालयमा आँखा परीक्षण टोली पठाएको भए पनि त्यसपछि भने विद्यार्थीको स्वास्थ्य परीक्षण भएको छैन्’ प्रअ सावदले भने।
स्वास्थ्य परीक्षणको कानुनी व्यवस्था
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ मा विद्यार्थीको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था गरिएको छ।
शिक्षा ऐन २०२८ को संशोधन ऐन २०७३ को नियम ११ को उपनियम ९६० मा गरिएको व्यवस्थाको तालिका ९५० मा स्वास्थ्य सुरक्षा र बचावटसम्बन्धी न्यूनतम अपेक्षित मापदण्डअनुसार हरेक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ। तर, उक्त व्यवस्था कार्यान्वयन नभएको पाइएको हो।
यस्तै ‘गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७’ मा सामुदायिक विद्यालयले कम्तीमा वर्षको २ पटक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुपर्ने उल्लेख गरेको छ।
विद्यालयमा गुणस्तरीय शिक्षाका लागि बालमैत्री राष्ट्रिय प्रारुपमा उल्लेख भएअनुसार सार्वजनिक विद्यालयले विद्यार्थीको स्वास्थ्य परीक्षण नहुँदा शिक्षाको गुणस्तर निकै खस्किएको सरोकारवाला बताउँछन्।
अधिकांश अभिभावक, विद्यार्थी र जनप्रतिनिधिलाई विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने कुरा पनि थाहा छैन्।
अनिवार्य आँखा परीक्षणको नीति पनि उस्तै
तत्कालीन सरकारका स्वास्थ्यमन्त्री गगन थापाको पालादेखि विद्यालय भर्ना हुनुअघि अनिवार्य रूपमा आँखा परीक्षण गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ।
नीतिमा विद्यालयमा भर्ना हुनुअघि अनिवार्य आँखा परीक्षण गर्नुपर्ने व्यवस्था भए पनि डडेल्धुरामा भने त्यो हुन सकेको छैन्। डडेल्धुराका विद्यालयमा उक्त नीति कार्यान्वयन नहुँदा नीति कागजमै सीमित भएको छ। ५ जेठ २०७४ मा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय आँखा स्वास्थ्य नीति २०७४ पारित गरेको थियो।
विद्यालयमा भर्ना हुनुअघि अनिवार्य रूपमा आँखा परीक्षण गर्नुपर्ने व्यवस्था पनि नीतिमा गरिएको छ। स्वास्थ्य नीतिमा हरेक वर्ष दृष्टि परीक्षण गर्ने व्यवस्था गरिने उल्लेख छ। आधारभूत आँखा उपचार तथा आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देशहरूलाई विद्यालय तहका पाठ्यपुस्तकमा समावेश गर्न पहल गरिने नीतिमा उल्लेख छ।
त्यसैगरी, स्कुलका शिक्षक तथा निम्न माध्यमिक तहका विद्यार्थीलाई दृष्टि परीक्षणका लागि तालिम दिई स्थानीय स्तरमा दृष्टि परीक्षणको सेवा उपलब्ध गराइने पनि व्यवस्था गरिएको छ।
नीतिमा व्यवस्था भएअनुसार यहाँका विद्यालयमा त्यसो हुन सकेको छैन्।
स्थानीय तह र विद्यालयले चासो दिएनन्
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामदत्त भट्टले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षणको बारेमा शिक्षा विकास तथा समन्वय इकाईलाई जानकारी नहुने बताए।
‘नियमित स्वास्थ्य परीक्षण नहुँदा विद्यार्थीको पठनपाठनको अवस्था कमजोर हुन्छ’ उनले भने, ऐनमा व्यवस्था भए अनुसार विद्यार्थीको स्वास्थ्य परीक्षणमा विद्यालय र स्थानीय तहले चासो देखाउनु पर्दछ।’ सरकारी विद्यालयले चासो नदिए पनि निजी विद्यालयमा बेलाबखत स्वास्थ्य परीक्षण हुँदै आएको छ।
अहिले स्थानीय तहमा बजेट आउने भएकाले आधारभूत तहको स्वास्थ्य परीक्षणमा स्थानीय तहले ध्यान दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले बताए। ‘डडेल्धुरामा रहेका जोगबुढा अस्पताललगायत जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्था अहिले पालिकाअन्तर्गत रहेका छन्।
त्यहाँका कर्मचारी र त्यहाँका सम्पूर्ण स्वास्थ्य सेवा पनि उहाँकै सम्पत्ति हुन्’ उनले भने, ‘विद्यालयले आफू नजिकका स्वास्थ्य संस्था र हामीसँग समन्व्य गर्यो भने हामी सहयाग गछौँ।’ सामुदायिक विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षण अनिवार्य छ। सामुदायिक विद्यालयमा मात्र होइन हरेक विद्यालयका विद्यार्थी स्वास्थ्य परीक्षणबाट बञ्चित हुनु नपर्ने जनस्वास्थ्य अधिकृत श्रेष्ठको भनाइ छ।
अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले आफूहरूले स्थानीय तहको स्वास्थ्य कार्यक्रमबाट नभएपनि विभिन्न गैरसरकारी संस्थाका कार्यक्रममार्फत विद्यालय सरसफाई तथा स्वास्थ्य चेकजाँच गर्ने गरेको दाबी गरे।
अहिलेसम्म स्वास्थ्य परीक्षण नगरेको भए पनि अब गर्ने योजनामा रहेको अमरगढी शिक्षा शाखा प्रमुख हेमन्त पन्तले बताए। डडेल्धुरामा सामुदायिक र संस्थागत गरि कुल २८२ विद्यालय रहेको छन्।
उक्त विद्यालयमा अहिले ४६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराको तथ्यांकअनुसार जिल्लामा २५१ सामुदायिक र ३१ संस्थागत गरि २८२ विद्यालय रहेका छन्।
गत आर्थिक वर्ष २०७५र०७६ को तथ्यांकअनुसार विद्यार्थीको संख्या छात्रातर्फ २३ हजार ६ सय ६५ र छात्रतर्फ २२ हजार ९ सय ३५ गरि विद्यार्थीको संख्या ४६ हजार ६ सय जना रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामदत्त भट्टले बताए।