हेटौंडा । रामेछापका एक युवालाई अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले बुधबार पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापती, कंचनपुरको श्रीपुर ६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रावती घर भएका कृष्ण गुरुङ र ट्याक्सी चालक आशिक लामा रहेका छन् ।
रामेछापका २१ वर्षीय नरेश थापा मगरलाई अपहरण गरी बा २ च ५३५६ नम्बरको ट्याक्सीमा राखेर हेटौंडा उपमहानगरपालिका ९ लामसुरेकी सरस्वती तामाङको घरमा बन्धक बनाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिँहले बताए ।
अम्लेखगंजबाट काठमाडौं जान लागेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा यात्रारत मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका समूहले उनलाई कुटपटि गरी नियन्त्रणमा लिएका थिए । मगरसँगै आएका काभ्रे मण्डनपुरका २८ वर्षीय सरोज सापकोटालाई समेत उनीहरुले कुटपिट गरेका थिए ।
मोबाइलको कल लोकेशनका आधारमा मगरलाई ८ घण्टापछि उद्दार गर्न सफल भएको सिंहले बताए ।
बुधबार बिहान पौने ३ बजेको समयमा हटौंडा(४ फरेस्टी क्याम्पस गेट अगाडिबाट उनीहरुले थापालाई अपहरण गरेको जानकारी पाएलगत्तै खोजीकार्यलाई तीब्र पारेपछि सकुशल उद्धार गर्न सफल भएको उनले बताए ।
अपहणमा संलग्न र बन्धक बनाउन सहयोग गर्ने पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसनधान गरिरहेको सिँहले बताए ।