अब इन्जिनियर बन्न लाइसेन्स परीक्षा पास हुनुपर्ने

Share post:

काठमाडौं । डाक्टर र बकिल जस्तै अब इन्जिनियरका लागि पनि लाइसेन्स लिन परीक्षा दिनुपर्ने भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबारमात्र समितिबाट पारित गरेको नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन ) विधेयकमा यस्तो व्यवस्था राखेको छ।

समितिबाट पारित भएको विधेयक कुनै परिर्वतन नभई संसदबाट पास भएमा इन्जिनियरहरुले लाइसेन्स लिनका लागि नयाँ परीक्षामा सहभागी भई उत्तीर्ण हुनुपर्ने छ।

हाल इन्जिनियरिङमा स्नातक गरेकाहरुले शैक्षिक प्रमाणपत्रका आधारमै इन्जिनियरिङ लाइसेन्सप्राप्त गर्न नेपाल इन्जिनियरिङ परिषदसमक्ष निवेदन दिन सक्ने ब्यवस्था छ। त्यस्तै विदेशमा अध्ययन गरेर आउनेले पनि त्रिभुवन विश्वविद्यालयले दिएको समकक्षता प्रमाणका आधारमा लाइसेन्स प्राप्त गर्दै आएका थिए।

तर अब यसलाई ब्यवस्थित, मर्यादित र व्यावसायिक बनाउनुपर्ने भन्दै राष्ट्रिय सभाको समितिले यस्तो कानुनी व्यवस्था गरेको हो। हालसम्म डाक्टर, नर्स र कानुन व्यवसायीले मात्र लिखित परीक्षा दिएर लाइसेन्स लिने गरेका छन्।

समितिबाट पारित भएको विधेयकमा वर्षमा दुई पटक परीक्षा लिने व्यवस्था प्रस्ताव गरिएको छ। विधेयकको दफा १४ मा परिषदले तोकेका व्यक्तिको संयोजकत्वमा परिषदभित्रै परीक्षा समिति रहने छ।

रजिष्ट्रार सदस्य सचिव रहने समितिमा परिषदलले नै तोकेका तीन जना सदस्य रहने छन्। उनीहरुले परीक्षाको पाठ्यक्रम तय गर्दै परीक्षा सञ्चालन गर्ने छन्। परीक्षाका लागि आवश्यक हुने अन्य मापदण्ड भने उक्त समितिले निर्माण गर्न सक्ने छ।

यो विधेयकलाई संसद अधिवेशन सुरु हुनेवित्तिकै पेस गर्ने तयारी गरिएको समिति सभापति पर्शुराम मेघी गुरुङले जानकारी दिए। राष्ट्रिय सभाले पास गरेपछि यो विधेयक प्रतिनिधि सभामा जान बाँकी रहेको छ।

राष्ट्रिय सभाबाट राखिएका प्रावधानहरु प्रतिनिधि सभाले परिर्वचतन नगरी पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने र कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ।

ताजा समाचार