दार्चुलाको व्यास क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट बन्ने

Share post:

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको गागा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट ९बीओपी० स्थापनाका लागि नौ महिनापछि टुंगो लागेको छ ।

मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बीओपी स्थापनाका लागि जिल्लास्तरबाट सिफारिस भई प्रस्तावित गरेको जमिन दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

गत चैत महिनाको पहिलो हप्ता जिल्लास्तरबाट जमिन व्यवस्थापनको प्रक्रिया अघि बढाइएको थियो । जिल्लास्थित सरोकारवाला निकाय र व्यासका स्थानीय बासिन्दासँगको छलफलपछि छाङरुको गागाक्षेत्रमा १५ रोपनी सरकारी जमिन सुरक्षा पोस्ट स्थापनाका लागि उपयुक्त हुने निस्कर्ष निकालिएको थियो ।

नौ महिनासम्म वन मन्त्रालयको सहमति चाहिने भन्दै जमिन व्यवस्थापनको फाइल गृह मन्त्रालयमै अडकाइएको थियो । प्रस्तावित ‘जमिन क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने’ बहाना देखाउदै पोस्ट स्थापनाको फाइल त्यतिकै थन्क्याइएको थियो ।

मन्त्रिपरिषद्ले दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले ‘दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ लगायत सीमावर्ती क्षेत्रमा सुरक्षा पोस्ट राखिने’ निर्णय भएको जानकारी दिए । यसबाट ‘सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने’ उनको भनाइ छ ।

व्यास क्षेत्रमा सुरक्षा पोस्ट स्थापनाका लागि गत साउनमै दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई १ करोड बजेट निकासा प्राप्त भएको गुल्मपति डम्बरवहादुर विष्टले बताए । ‘हालै नेपाल सरकारबाट जमिन व्यवस्थापनबारे निर्णय भएको छ, अब पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्छ’, गुल्मपति विष्टले भने ।

ताजा समाचार