काठमाडौं । नेपाल प्रहरीको अस्पतालकी प्रमुख प्राविधिक डा. दुर्गा थापाले अवकाश पाएकी छन् ।
अस्पतालको मेडिकल डाइरेक्टर बन्ने पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापाले शुक्रबारबाट अनिवार्य अवकाश पाएकी हुन् । उनलाई सरकारले २५ कात्तिक २०७५ मा एआईजीमा बढुवा गरेको थियो ।
थापाको अवकाशसँगै नयाँ प्रमुख नियुक्तिको तयारी थालिएको छ । प्रहरी अस्पतालको नेतृत्वका लागि प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. मिनराज पाठक, डा. आशा सिंह र डा. सुमनराज श्रेष्ठ प्रतिष्पर्धामा छन् ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सचिव सदस्य रहने बढुवा समितिले तीनमध्ये एक जनालाई एआईजीमा बढुवा गर्नेछ ।
तीनै जना १ पुस २०७५ मा डीआईजीमा बढुवा भएका थिए । प्रतिष्पर्धामा भएका मध्ये डा. पाठक सुदूरपश्चिम, डा. सिंह तराई र डा. श्रेष्ठ काठमाडौंवासी हुन् ।