ट्याक्टरमै सुत्केरी, गाउँपालिकामा छैन एम्बुलेन्स

Share post:

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका ५ कटुवा गाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन्।

सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्याक्टरमा नै बच्चा जन्माइन्। शनिबार बिहान विजयनगर गाउँपालिका ५ कटुवा गाउँकी उर्मिला कोरी सुत्केरी व्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु ३ त २४४८ नंको ट्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्याक्टरमा नै छोरा जन्माएको हो ।

विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन। गर्भवती महिला त्यो पनि सुत्केरी व्यथाले च्यापेको अवस्थमा ट्याक्टरमा उफार्दै करिब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो।
गाउँमा एम्बुलेन्स नहुँदा ट्याक्टरमा ल्याउँदा यो जाडोयाममा बच्चा जन्मिएको उर्मिलाका सासू कमलावती कोरीले बताइन्।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनु परेको उर्मिलाको परिवारले बताए ।

’गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरिद नगर्दाको आफू जस्तै गाउँपालिकाका अरु महलिाले पनि पीडा भोगिरहेको छ’, स्थानीवासी कलम कोरीले भने, ’भगवानका कृपाले मेरी बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो ।’ गरिब छौँ स्थानीय तहले एम्बुलेन्सका लागि कुनै पहल नगर्दा समस्या भएको उनको भनाइ छ ।

विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन । यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

श्रोतथाहाखबर

ताजा समाचार