रोजगारीका लागि भारत गएका २ सय ४२ जना बेपत्ता !

विज्ञापन

Share post:

महेन्द्रनगर । यज्ञराज नाथ सानैदेखि कामको खोजीमा भारत जान्थे । ६ महिनारवर्षदिनमा घर फर्कन्थे । यही क्रममा उनले विवाहपछि केही वर्ष श्रीमतीलाई पनि भारत लगे ।

त्यहीँ दुई छोरीहरू जन्मिए । पछि परिवारलाई वेदकोट नगरपालिका–१ पिपलथलास्थित घरमा ल्याइ छाडेर मुम्बई लागेका उनी १३ वर्षयता वेपत्ता छन् ।

‘परिवार घरमा छाडेर गएपछि कहिल्यै फर्केन, न त फोन सम्पर्क नै गर्‍यो,’ यज्ञराजकी आमा कलावतीले भनिन् । घरपरिवार सबै उनको भरमा चलेको थियो ।

एकाएक उनी सम्पर्कविहीन भएपछि घरपरिवार निकै समस्यामा छ । आफन्तले खोज्ने प्रयास गरे पनि उनी विगतमा काम गर्ने ठाउँ छाडेर अन्तै गइसकेको जानकारी पाए । यज्ञराज घरका जेठा छोरा हुन् ।

कान्छा गोपाल पनि कामकै लागि भारतको गुजरातमा छन् । यज्ञराजका छिमेकी चक्र मल्ल पनि दुई दशकदेखि बेपत्ता छन् । उनी घरबाट गएदेखि नै सम्पर्कविहीन छन् । आफन्तसँगै घरबाट भागेर उनी भारत गएका हुन् ।

नाथ र मल्ल जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशबाट कामको खोजीमा भारत जानेको संख्या अत्यधिक छ । कतिपय लामो समयका लागि जान्छन् भने अधिकांश पटके रोजगारीका लागि जाने गरेका छन् । तर यसरी भारत गएकामध्ये वेपत्ता हुनेको संख्या पनि कम छैन ।

आप्रवासी कामदारका सवालमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालले गरेको अध्ययनअनुसार वेदकोटमा यज्ञराजझैं वेपत्ता हुनेको संख्या ३४ छ ।

५ देखि ३० वर्षभन्दा बढी समयदेखि उनीहरू घरपरिवारको सम्पर्कमा छैनन् । आफन्तले खोजीका लागि विभिन्न ठाउँमा गएर खोजबिन गरे पनि प्रहरी प्रशासनमा भने कुनै किसिमको निवेदन वा जानकारी दिएका छैनन् ।

निड्सको तथ्यांकअनुसार कामका लागि भारत गएका कञ्चनपुरको महाकाली नगरपालिकाका ५४ र पुनर्वास नगरपालिकाका ३६ जना वेपत्ता छन् । यसैगरी डोटीको शिखर नगरपालिकाका सय र साविकको भूमिराजमाडौं गाविसका १८ जना वेपत्ता छन् । ‘सुदूरपश्चिमका हरेक स्थानीय तहबाट रोजगारीका लागि भारत पुगी वेपत्ता हुनेको संख्या धेरै छ,’ निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाश मडैले भने, ‘सबै ठाउँमा तथ्यांक संकलन गर्न स्थानीय तहले आवश्यक पहल गर्नुपर्छ ।’

सुदूरपश्चिम र कर्णाली तथा प्रदेश ५ का विभिन्न जिल्लाबाट कामको खोजीमा भारत जानेहरूले मुख्यतया गड्डाचौकी नाकाको प्रयोग गर्छन् । यहाँबाट दिल्ली, पञ्जाब र उत्तराखण्डको पहाडी क्षेत्र नजिकै पर्ने भएकाले उनीहरू यही बाटो प्रयोग गर्छन् । महेन्द्रनगरबाट समेत नेपाल र भारतका गरी दैनिक एक दर्जन बसहरू दिल्ली र देहरादुनसम्म सञ्चालन भइरहेका छन्, जसले भारतमा रोजगारीका लागि जानेहरूलाई निकै सहज बनाएको छ ।

‘अब भारत जाने कामदारको तथ्यांक संकलनमा विशेष जोड दिनुपर्छ,’ लामो समयदेखि सुरक्षित आप्रवासनका क्षेत्रमा काम गरिरहेका मडैले भने, ‘त्यसपछि वेपत्ता हुनेको पनि सूची तयार पार्न सजिलो हुन्छ ।’ स्थानीय तह र प्रदेश सरकारले ठोस योजना ल्याएर यसमा काम गर्नुपर्ने उनले बताए ।

ताजा समाचार