डडेल्धुरा । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुराको अमरगढी नगरपालिकाले ‘घुम्न जाऔं अमरगढी’ अभियान संचालन गर्ने भएको छ।
शनिबार जिल्ला सदरमुकाममा नेपाल पर्यटन पत्रकार महासंघ डडेल्धुरा शाखको समन्वयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत अमरगढी नगरपालिकाले नेपाल भ्रमण वर्षलाई सफल पार्न अभियान नै संचालन गर्ने जनाएको हो।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नुका साथै पर्यटन विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य नगरपालिकाले लिएको अमरगढी नगरपालिकाका प्रमख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए।
उनले कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० मा नगरपालिकामा संचालन गरिने गतिविधिहरूका बारेमा समेत जानकारी गराए।
अमरगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्यटन सूचना केन्द्र स्थापन गर्ने प्रशासकिय अधिकृत उपाध्यायले बताए।
भ्रमण वर्ष सफल पार्न अमरगढीमा एकजना कर्मचारीलाई पर्यटन फोकल पर्सन तोक्ने, अमरगढी पर्यटन पेज निर्माण गर्ने, जिंगल निर्माण, पर्यटन गीत निर्माण गर्ने, देउडा, हुड्केली र स्थानीय संस्कृतिसम्बन्धी तालिम संचालन गर्ने, पर्यटकलाई स्थानीय खानाको स्वाद च्वाखाउने, स्वागत तथा सत्कार गर्ने समूह निर्माण गर्ने, २० जना युवायुवतीलाई पर्यटन विकास गाइड तालिम दिने, विद्यालयमा पर्यटन शिक्षा कार्यक्रम संचालन गर्नेलगायतका कार्यक्रम गर्ने प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश पर्यटकीय दृष्टिकोणले धेरै सम्भवना बोकेको क्षेत्र भएको उल्लेख गर्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले नेपाल भ्रमण वर्ष सफल पार्नको लागि आफूहरू लागि परेको बताए ।
अमरगढी नगरपालिकाले यस वर्ष पर्यटनका क्षेत्रमा ४ लाख ५० हजार बजेट विनियोजना गरेको छ ।
नेपाल भ्रमण वर्ष सफल पार्नको लागि विभिन्न स्थानीय तहसँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य समन्वय गरेर अघि बढ्ने नगरप्रमुख ओझाले बताए ।
केही दिनपछि सुरु हुन गइरहेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को पनि नगरपालीकाको भव्य तरिकाले शुभारम्भ गर्ने योजना रहेको नगरप्रमुख ओझाले बताए ।
हुड्केली, पञ्चेबाजासहित नेपाल भ्रमणको शुभारम्भ गर्ने नगरपालीकाले जानकारी दियो ।