काठमाडौं । नेपाली कांग्रेसले नेपालीहरुका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसहितको टोलीले आइतबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो ध्यानाकर्षण गराएको हो ।नेपालीलाई हङकङमा ट्रान्जिट भिषाको व्यवस्था नहुँदा मकाउमा रोजगारीका लागि पुग्ने युवाहरुले कठिनाइ भोग्नु परेको भन्दै कांग्रेसले त्यसको व्यवस्था मिलाउन सरकारसँग माग गरेको जनाएको छ ।
ज्ञापन पत्र बुझाउँदै प्रमुख सचेतक खाँणले ‘वर्क परमिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहेको र काठमाडौं–हङकङ–मकाउ उडान सबै भन्दा पायक र सहज रुट रहेकोबारे मन्त्री ज्ञवालीलाई जानकारी गराएका थिए ।
भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।