काठमाडौँ — नेपाल प्रहरीको लागुऔषध ब्यूरोले ६ केजी कोकिनसहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुईजना बेलारुसका नागरिक र लाजिम्पाटबाट दुईजना बोलेभियन नागरिकलाई पक्राउ गरेको छ ।
उनीहरुबाट बरामद भएको कोकिनको बजार मूल्य करिब १८ करोड रुपैयाँ बराबरको रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार सो परिमाणको कोकिन बोलेभियाबाट इथियोपिया(दिल्ली हुँदै काठमाडौं ल्याइर्पुयाइएको र यहाँबाट हंगकङ लैजाने योजना उनीहरुको थियो। प्रहरी टोलीले हिजो साँझ विमानस्थल क्षेत्र र लाजिम्पाटबाट उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गर्दै छ।
केही दिन अघि पनि ३ केजी कोकिनसहित बोलेभियन महिला विमानस्थलबाट नै पक्राउ परेकी थिइन्। यस्तै गत भदौमा पनि २ किलो १०० ग्राम कोकिनसहित बोलेभियन नागरिक नै पक्राउ परेका थिए।
पछिल्लो समय कोकिन उत्पादन हुने दक्षिण अमेरिकी मुलुकहरु कोलम्बिया, ब्राजिल, मेक्सिकोबाट भरियाको साहयतामा कमजोर विमानस्थल सुरक्षा भएका देशहरुको बाटो हुँदै नेपाल भित्र्याउने र यहाँबाट यूरोप, अस्ट्रेलिया, चीन र भारत जस्ता मुलुकमा तस्करी गर्ने ट्रेण्ड देखिएको प्रहरी स्रोतले दाबी गरेको छ।