निर्मला पन्तको हत्याको बिषयमा बनेको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक

Share post:

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथामा निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ ।

शिवम् अधिकारीको निर्देशन रहेको फिल्ममा निर्मलाको हत्याको घटनापछि भएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक अवस्थाको कथा बनाइएको छ ।

सार्वजनिक ट्रेलरमा निर्मलाकी आमा दुर्गादेवी पन्तको भनाई पनि समेटिएको छ । छोरीको हत्या गर्ने दोषी प्रहरीले पक्राउ गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो छोरीमाथि भएको घृणित कार्य अरुमाथि हुनबाट रोक्न फिल्म ‘कोपिला’ले महत्वपुर्ण भूमिका खेल्ने निर्मलाकी आमा दुर्गादेबीले आश व्यक्त गरेकी छन् । ‘कोपिला’ मा निर्मलको भूमिका सन्जिवनी खरेलले निर्वाह गरेकी छन् ।

फिल्ममा सरिता गिरीले आमा र गणेश गिरीले पिताको भूमिका निर्वाह गरेका छन् । फिल्ममा ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । रामेश्वर कार्कीको छाँयाकन र दीपक शर्माको संगीत रहेको फिल्मको प्रदर्शन मिति समेत तोकिएको छैन । चितवन आसपासमा छायाँकन भएको फिल्म गणेश गिरीको प्रस्तुतिमा मणिराज गौतमले बनाएका हुन् । फिल्मलाई नयाँ बर्षमा प्रदर्शनमा आउने निर्माता गिरीले बताए ।

हेर्नुहोस ट्रेलर

श्रोतratopati

ताजा समाचार