महेन्द्रनगर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियास्थित वनदेवी जंगलमा आइतवार बेलुका एक बेवारिसे मोटरसाइकल भेटिएको छ ।
म २ प ४८५३ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पश्चिमदेखि पूर्वतर्फ जादै गरेको मोटरसाइकल सडकबाट हुत्तिएर नालीमा परेको अवस्थामा छ ।
मोटरसाइकलको अगाडिको भाग टुटेको छ । मोटरसाइकलको अवस्था हेर्दा सो मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
यद्यपी हाल सम्म दुर्घटना भए जस्तो किसिमले कुनै ठोस प्रमाण नमिलेको एक प्रहरी अधिकारीले बताए ।
‘सडकमा १०० मिटर जति घिसारिर मोटरसाइकल नाली परेको छ । मोटरसाइकलको अगाडिको भागका सकर र भाइजर टुटेका छन् । दुर्घटनामा परेको जस्तो देखिन्छ ।’ एक प्रहरी अधिकारीले दैनिक सञ्चारसंग भने, ‘मोटरसाइकलको चाबी त्यसमा छैन् ।’
दुर्घटना भएको कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले सो मोटरसाइकल ईलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा छ ।