रोहितले तोडे जयसूर्याको २२ वर्ष पुरानो किर्तिमान

Share post:

एजेन्सी
भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा नयाँ किर्तिमान बनाएका छन् ।

पारीमा नवौँ रन बनाउँदा रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने ओपनर बनेका हुन् ।

योसँगै रोहितले श्रीलङ्काका पूर्व कप्तान सनथ जयसूर्याको २२ वर्ष पुरानो किर्तिमानलाई तोडेका छन् । सन् १९९७ मा जयसूर्याले ओपनरका रुपमा २ हजार ३ सय ८७ रन बनाएका थिए ।

रोहितले यस पारीमा आफ्नो करियरको ४३ औँ अर्धशतक पनि पूरा गरे ।

रोहितले यो वर्ष ओपनरका रुपमा २ हजार ४ सय ४२ रन बनाउन सफल भएका छन् । उनले पाँच टेस्टमा ९३.६६ को औसतले ५ सय ५६ रन बनाए । यस दौरान उनले तीन पटक शतकीय पारी खेलेका थिए ।

त्यस्तै, टी–२० मा रोहितले १४ खेलमा ३ सय ९६ रन बनाए । यस क्रममा उनले चार अर्धशतक बनाए ।

रोहितले कटकमा ६३ रन बनाउन सफल भए । उनले लोकेश राहुलसँग पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे ।

तर, यस वर्ष रोहितलाई उछिन्दै विराट कोहली सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । रोहितले २ हजार ४ सय ४२ रन बनाउँदा कोहलीले २ हजार ४ सय ५५ रन बनाए ।

एकदिवसीयमा भने रोहित अगाडि रहेका छन् । रोहितले १ हजार ४९० रन बनाउँदा कोहलीले १ हजार ३७७ रन बनाएका छन् ।

भारतलाई लागतार १० औँ शृङ्खला

भारतले तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय १६ रनको लक्ष्य भारतले ४८.४ ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।

योसँगै भारतले २–१ ले शृङ्खला आफ्नो पक्षमा पार्यो । वेस्ट इन्डिजविरुद्ध भारतको यो लगातार १० औँ शृङ्खलामा जीत हो ।

भारतले ३ सयभन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको यो किर्तिमानी १७ औँ पटक हो ।

ताजा समाचार