काठमाडौं । चितवन राईनोज पोखरा प्रिमियर लिग पिपिएल क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा आज पाँचौ खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले हराउँदै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधि भिडन्त पक्का गरेको हो।
पोखरा रंगशालामा १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले पूरा ओभरमा १ सय ७ रन मात्रै बनाउन सक्यो। काठमाडौंका ३ जना ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन जोड्न सके।
कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४० रन बनाउँदा पवन सर्राफले २७ र पृथु बास्कोटाले १८ रन बनाए। ३ जना ब्याट्म्यान शून्य रनमै आउट भए ।
सन्नी पटेलले काठमाडौंको ३ विकेट खसाले। त्यसअघि टस हारेर पहिल ब्याटिङ गरेको चितवनले पुरा ओभरमा ४ विकेट खर्चेर १ सय ६७ रन बनाएको थियो।
चितवनका लागि बाबर हायातले ७० रन बनाउँदा रोहन मुस्तफाले अविजीत ५९ रन जोडे ।
आजको हारसँगै काठमाडौंले प्लेअफका लागि विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्स बीचको खेलको नतिजा कुर्नुपर्ने भएको छ ।
उक्त खेलमा बुटवल ब्लास्टर्स विजयी भएमा प्लेअफमा पुग्ने टिमको टुंगो नेट रनरेटका आधारमा हुनेछ।