मानव तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गड्डाचौकी नाका

Share post:

महेन्द्रनगर ।
नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीलाई मानव तस्करहरुले, तस्करीको ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्ने गरेको भेटिएको छ ।

पश्चिम क्षेत्रको मुख्य नाकाको रुपमा रहेको गड्डाचौकी भएर दलालहरुले आफ्नो जालो फैलाउँदै लगेका छन् । छिमेकी राष्ट्र भारतसँगको खुला सीमाका कारण महिला तथा बालबालिका बेचबिखनका लागि दलालहरुले हरेक नाका प्रयोग गर्न सक्छन् ।

तर पछिल्लो समय अन्य स्थानमा कडाइ हुन थालेपछि तस्करहरुले पश्चिमी सीमा नाका गड्डाचौकीलाई मानव तस्करीको मुख्य नाकाका रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।

विभिन्न प्रलोभनमा पारेर दलालहरुले चेलिबेटीहरुलाई गड्डाचौकी नाका भएर वर्षेनी भारत तथा तेस्रो मुलक लैजाने गरेका छन् । कतिपयलाई सीमामा चेकजाँच गरी रोकिन्छ तर कैयौंलाई भने तस्करहरुले झुक्याएर सीमा कटाउने गरेका छन् ।

महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार वर्षेनी सयौंको संख्यामा दलालको फन्दामा पर्न लागेका चेलिबेटीहरुलाई जोखिमबाट जोगाइएको छ ।

माईती नेपालको तथ्याङ्क अनुसार पछिल्लो ६ वर्षको अवधिमा पश्चिमी सीमा नाकाबाट एक हजार जनालाई जोखिमबाट जोगाइएको छ ।

सन् २०१४ मा ८६, सन् २०१५ मा १५९, सन् २०१६ मा ३३८, सन् २०१७ मा २०६, सन् २०१८ र सन् २०१९ मा २३९ जना महिला तथा बालबालिका गरी जम्मा ४५० लाई जोखिमबाट मुक्त पारिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले दैनिक सञ्चारलाई बताइन ।

‘चेलीबेटी बेचबिखन सुदूरपश्चिम प्रदेशमा जोखिमपूर्ण छ । सबैभन्दा बढि यसै क्षेत्रमा महिला तथा बालबालिकालाई गड्डाचौकी नाका भएर ओसारपसार गर्ने गरिएको छ ।’ उनले भनिन्, ‘दलालहरु यस क्षेत्रमा बसी यहाँको नाकालाई आफ्नो अखडा बनाउदै छन् ।’

उनका अनुसार सन् २०१९ मा विभिन्न ठाउँबाट उद्दार गरिएका २३९ जना महिला तथा बालबालिकामध्ये सबैभन्दा बढि ६१ जना रहेका छन् ।

जोखिमबाट उद्दार गरिएका अन्य महिला तथा बालबालिकाहरु कैलालीका २१ प्रतिशत, बझाङका ९ प्रतिशत, डोटीका ६ प्रतिशत रहेका छन् ।

यो तथ्याङ्कले हेर्दा पनि गड्डाचौकी नाकालाई मानव तस्करहरुले ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्दै आएको सहजै आकलन गर्न सकिन्छ । फलाई–फुकाइ, रोजगारी दिने जस्ता विभिन्न प्रलोभनमा पारी दलालहरुले पश्चिमी नाका भएर विदेश लगेर अलपत्र पार्ने गरेका छन् ।

सीमा नाकामा रहेका सूचना परामर्श केन्द्रमा सोधपुछ गर्ने र त्यस क्रममा शंका लागेमा नियन्त्रणमा लिने गरेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताईन् ।

कञ्चनपुरको गड्डाचौकी नाका र दोधारा–चाँदनीमा एक/एक गरी दुई सूचना परामर्श केन्द्र स्थापना गरी माइती नेपाल कञ्चनपुर चेलिबेटी बेचबिखन नियन्त्रण तथा जोखिममा परेका महिलाको उद्धारमा सक्रिय छ ।

प्रगति विवरण प्रस्तुत
माइती नेपाल कञ्चनपुरले आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

बुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टले वार्षिक प्रगति विवरण पेश गरेकी थिइन ।

माइती नेपाल कञ्चनपुरले जिल्लामा मानव बेचबिखन तथा महिलामाथी हुने सबै खाले भेदभाव तथा हिंसा विरुद्ध काम गर्दै आएको छ ।

सन् २०१९ को हालसम्म गड्डाचौकी सीमा नाकाबाट जोखिममा परेका २३९ जना महिला तथा बालबालिकाहरु उद्धार गरिएको संयोजक भट्टले बताइन ।

उनका अनुसार गड्डाचौकी क्षेत्रमा ३ हजार ६ सय ८० सवारी साधन चेकजाँच गरिएको छ । सन् २०१९ को हालसम्म ७७ जना महिला तथा बालबालिकाहरुलाई जोखिमबाट मुक्त पारी घर पठाइएको थियो ।

ताजा समाचार