सुदूरपश्चिममा पनि नेपाल भ्रमण वर्ष २०२० को तयारी हुँदै

Share post:

हरिश चन्द्र बाग, कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशमा पनि नेपाल भ्रमण वर्ष २०२० को तयारी हुँदै छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारले आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशले भव्य कार्यक्रम गर्ने बताए ।

पुस १६ गते अर्थात जनवरी ०१ तारिखका दिन प्रदेश सरकारको आयोजनामा झाँकी(र्याली सहित कैलालीको धनगढीमा प्रदेश स्तरीय कार्यक्रम गरिने उनको भनाइ छ ।

संघीय सरकार र सुदूरपश्चिम प्रदेश भित्रका स्थानीय तहहरूसंग सहकार्य गरी प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्ने योजना बनाएको उनले बताए ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाले उक्त दिन गड्डाचौकी नाकाबाट भित्रिने विदेशी पर्यटकलाई सीमा नाकामै सम्मान गर्ने र बग्गीमा बसाई महेन्द्रनगर बजार सहित विभिन्न पर्यटकीय स्थल र सुदूरपश्चिम सांस्कृतिक महोत्सव अवलोकन गराउने योजना रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिए ।

भीमदत्त नगरपालिकामा बुधबार आयोजित सरोकारवालासंग छलफल कार्यक्रममा नगर प्रमुख बिष्टले सबैको सल्लाह(सुझाव र सहयोगमा नगरपालिकाले वार्षिक कार्ययोजना बनाइरहेको बताए ।

सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिका सह(संयोजक प्रमानन्द भण्डारीले विदेशी पर्यटकहरूको लागि नजिकको गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्र भएपनि सरकारको नजरमा अझैपनि टाढा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिए । छलफल कार्यक्रममा सहभागीहरूले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आ(आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ताजा समाचार