आज खण्डग्रास सूर्यग्रहण: कहाँबाट कसरी हेर्ने ?

Share post:

काठमाडौं ।

आज (बिहीबार) बिहान लाग्ने खण्डग्रास सूर्यग्रहण सुरक्षित तरिकाले अवलोकनका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तयारी भएको छ।

कीर्तिपुरस्थित विपी कोइराला प्लानेटोरियम एन्ड अब्जरभेट्रीको कार्यालय, नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो० को बत्तिसपुतलीस्थित कार्यालय, प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस, बसुन्धरास्थित तक्षशिला स्कुल लगायत स्थानमा सुरक्षित रुपमा सूर्यग्रहण देखाउने कार्यक्रम तय गरिएको छ।

‘सूर्यग्रहणलाई सुरक्षित रुपमा अवलोकन गर्ने व्यवस्था गरेका छौं। सूयग्रहणलाई प्रोजेक्टरबाट देखाइने छ,’ प्लानेटोरियमका कार्यवहाक कार्यकारी निर्देशक सनतकुमार शर्माले नेपालखबरसँग भने, ‘खुला आँखाले हेर्नुहुँदैन। सन फिल्टर भएको चश्माबाट हेर्दा सुरक्षित हुन्छ।’

काठमाडौं उपत्यकामा बिहान ८ बजेर ४३ मिनेटबाट सूर्यग्रहण हुनेछ। नेपालको पश्चिमतर्फ महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र पूर्वको भद्रपुरमा ८ बजेर ४८ मिनेटमा ग्रहण शुरु हुनेछ। काठमाडौंमा १० बजेर १ मिनेटमा अधिकतम रुप लिँदा केहि अध्याँरो र तापक्रम पनि घट्नेछ। सो ग्रहण ११ बजेर ३३ मिनेटमा सकिनेछ।

बिहीबार बिहान लाग्ने सूर्यग्रहण मध्यपूर्वका कतिपय देश, दक्षिण भारत, इण्डोनेसियाबाट देखिनेछ। यो ग्रहणलाई सुरक्षित रुपमा मात्रै हेर्न विज्ञहरुले आग्रह गरेका छन्। सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर हेर्न नहुने उनीहरुको सुझाव छ। नांगो आँखाले सुरक्षाको उपाय नअपनाई अवलोकन गरेमा आँखा पुरै विग्रने वा दीर्घकालिन असर पर्ने उनीरुले चेतावनी दिएका छन्।

त्यसैगरी एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना वा पानीको प्रतिबिम्बमा समेत नहेर्न आग्रह गरेका छन्। हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्मा वा वेल्डिङ गर्दा प्रयोग गरिने चश्माबाट अवलोकन गर्नु सुरक्षित हुने उनीहरुको धारणा छ।

‘नेपाल एस्ट्रोनोमिक सोसाइटी ९नासो०ले स्थानीय संस्थाहरुसँग सहकार्य गरेर सुरक्षित रुपमा देखाउने कार्यक्रम बनाएको छ,’ नासोका अध्यक्ष सुरेश भट्टराईले भने, ‘वेल्डिङ गर्दा लगाउने चश्मा पनि सुरक्षित हो। तर सामान्य प्रकारको चश्मा वा अन्य उपायले हेर्दा आँखा विग्रने जोखिम हुन्छ।’ उनले घरमै बसेर युट्युवबाट पनि सूर्यग्रहणका प्रत्यक्ष प्रशारण हेर्न सकिने बताए।

बिहीबार पृथ्वीको केही भागबाट वलायाकार वा रिब ग्रहण अवलोकन गर्न सकिने छ। अर्थात् चन्द्रमाको छायाँको व्यास ९डायमिटर० सूर्यकोभन्दा सानो भएकोले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि गोलाकार जस्तो देखिनेछ। त्यसैले यसलाई ‘रिङ अफ फायर’ पनि भनिएको छ।

यस्तो देखिने स्थानहरु साउदी अरबबाट शुरु भएर कतार, यूएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ।

खगोलशास्त्री जयन्त आचार्यले बिहीबार बिहान १० बजेतिर सूर्यग्रहणले अधिकतम रुप लिने बेला तापक्रम घट्ने र बढि जाडो महशुस् हुने बताए। ‘सूर्यग्रहण अधिकतम हुँदा तापक्रम बिहान ६ बजे जस्तै हुनेछ। बाहिर निस्कदा बढि चिसोको अनुभव हुनेछ,’ आचार्यले भने, ‘अन्य दिनमा घाम लाग्दै जाँदा १० बजेतिर तातो अनुभव हुँदै जान्छ तर भोली त्यतिबेला अधिकतम ग्रहण हुने हुँदा चिसो हुनेछ।’ ग्रहण अत्यधिक भएको समयमा नेपालबाट सूर्यको ३९ प्रतिशत खण्ड ढाकेको देखिनेछ।

ग्रहण लाग्ने दिन तराईबाहेक देशको अन्य भागको मौसमी अवस्था सामान्य रहने अनुमान गरिएको छ। ‘तराईमा कुहिरो लाग्ने संभावना रहेको छ। काठमाडौं उपत्यकामा बिहान केही समयमा कुहिरो लागेपनि घाम निस्कदै जाँदा त्यो हराउने देखिन्छ,’ वरिष्ठ मौसमविद् बरुण पौडेलले भने।

ताजा समाचार